Logo

“राप्रपा प्रवेशको छोटो समय र चुनावको मुखमा विरामी हुँदापनि जनताको अपार माया पाएँ”



काठमाडौं, १२ मंसिर । मंसिर ४ गतेको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनमा विजय हुने उम्मेदवारहरु अहिलेपनि जनताको घरदैलोमा विजय र्याली लिएर पुग्ने गरेका छन् । पराजित उम्मेदवारहरु निराश छन् । तर, बर्दिया-२ मा राप्रपाका उम्मेदवार रहेका विनय रावल भने निर्वाचनमा व्यहोरेको पराजयबाट पनि खुशी छन् । उनी चुनाव जित्नेगरि मैदानमा उत्रिएका थिए ।

तर, कांग्रेसबाट राप्रपा प्रवेशको दुई महिनामात्रै भएको र निर्वाचनकै मुखमा खुट्टामा चोट लागेर काठमाडौंको ग्राण्डी अस्पताल बस्नु परेकोले उनले जति तयारी गर्नुपर्ने थियो, त्यति निर्वाचनको तयारी गर्न पाएनन् । उनी वैशाखीको सहारा लिएर निर्वाचनको केही दिन अघिबाट मात्रै जनताको घरदैलोमा पुगेका थिए ।

नयाँ पार्टी र निर्वाचन प्रचारप्रसारमा पर्याप्त समय दिन नसक्दापनि उनले जनताबाट लोभलाग्दो मत पाए । उनले आफूले पाएको मतलाई जनताको अपार मायाको रुपमा लिएका छन् । हुन पनि उनले १३२९२ मत प्राप्त गरेका छन् । उनले प्राप्त गरेको मतबाट पार्टी नेतृत्वपनि खुशी छ ।

निर्वाचनमा पराजय व्यहोरेका रावलले नतिजा आउनेबित्तिकै फेशबुकमा लेखेका थिए,”अत्यन्तै कमजोर संगठन, थाकेका जेष्ठ कार्यकर्ताहरुका बाबजुद पनि बर्दिया क्षेत्र नं. २ का मेरा देवतासमान बर्दियाली जनताले दिएको १३,२९२ जनमतलाई सदैव शिरोधार्य गरी वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहेपनि जनताको मनको प्रतिनिधिका रुपमा रहि दुःख सुखमा सदैव साथ दिने प्रतिवद्धता गर्दछु ।”

बर्दियामा रावलको व्यक्तित्व नै राजनीतिज्ञ भन्दापनि समाजसेवीको रुपमा बढि वजनदार छ । हुन त रावलले आफूलाई राजनीतिज्ञ वा नेता भन्दापनि जनताको सेवकको रुपमा चिनाउने गरेका छन् । यतिवेला रावल काठमाडौंमा छन् । उनी अहिलेपनि चिकित्सकको निगरानीमा छन् । र, बेड रेष्ट गरिरहेका छन् । उनको शरिर काठमाडौंमा रहेपनि मन भने बर्दियामा नै छ ।

काठमाडौं होस वा नेपाल बाहिरको बसाईमा पनि उनले बर्दियालाई मन र मस्तिष्कमा सजाउने गरेका छन् । बर्दियाको समग्र विकासलाई अघि बढाउन आफू अहोरात्र खटिने उनको प्रतिबद्धता छ । उनले बर्दियाको विकासको लागि ‘विकसित र व्यवस्थित् बर्दिया’ को नारा अघि सारेका छन् । र, सोही नारालाई सार्थक तुल्याउनेगरि कामपनि अघि बढाएका छन् ।

उनले बर्दियामा कृषि र पर्यटनमा क्रान्ति ल्याएर छाड्ने उद्घोष गर्ने गरेका छन् । रावलले चुनावमा आफूले पाएको मतलाई ठूलो सफलता र जनताको मायाको उपहारका रुपमा लिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,”राप्रपा प्रवेशको छोटो समय र चुनावको मुखमा विरामी हुँदापनि जनताको अपार माया पाएँ, यो नै मेरो जित हो । म खुशी छु । बर्दियाको विकासको लागि मैले चालेको पाइला रोकिनेवाला छैन् । अब झनै द्रुततर गतिमा अघि बढ्छ । जय राष्ट्रवाद ।”



प्रतिक्रिया दिनुहोस्