Logo

मधेश प्रदेशमा कसको सरकार ?



काठमाडौं, मंसिर १३ । मधेस प्रदेशमा ‘कुन पार्टीको सरकार बन्ने ?’ भन्ने चर्चा चुलीमा पुग्दै गर्दा सार्वजनिक मतपरिणामअनुसार ‘कुनै एक दलको बहुमत नपुगेकाले यहाँ एमाले वा कांग्रेस मध्ये एकको गठबन्धनमा सरकार बन्ने सम्भावना बढेको छ । कुनै दुई दल मिल्दासमेत मधेस प्रदेशमा सरकार बन्ने अवस्था देखिँदै छ ।

मधेस प्रदेशमा सरकार निर्माणका लागि डा। सिके राउत नेतृत्वको जनमत पार्टी, पूर्वमन्त्री एवं नवनिर्वाचित सांसद प्रभु साह र स्वतन्त्रलगायतको भूमिका निर्णायक हुने देखिन्छ । १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा ६४ प्रत्यक्ष र ४३ समानुपातिक सिट छन् । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।

प्रत्यक्षतर्फको सार्वजनिक मतपरिणामअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) १४, नेपाली कांग्रेसले १३, जनता समाजवादी पार्टी नेपाल (जसपा) ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ७, जनमत पार्टी ६, स्वतन्त्र ६, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ४ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले ४ सिटमा विजयी भएका छन् ।

मधेस प्रदेश प्रत्यक्षतर्फको ६४ मध्ये ६३ सिट मतपरिणाम सार्वजनिक भइसकेको छ । १ मात्रै बाँकी रहेको धनुषा ४ को २ मा एमाले हरिनारायण महतो ९ हजार ६ सय २२ मतसहित अगाडि छन् । एकीकृत समाजवादी स्थायी कमिटी सदस्य एवं मधेस प्रदेशका वनमन्त्री शत्रुधन महतो ७ हजार ५ सय ६९ मतसहित उनलाई पछ्याइरहेका छन् ।

संघीय निर्वाचनजस्तै मधेस प्रदेशमा एमाले र जसपाको एक गठबन्धन र अर्कोतर्फ सत्तारूढ पाँच दलीय गठबन्धन थियो । यद्यपि, केही ठाउँमा दुवै गठबन्धनभित्र समेत मित्रवत् प्रतिस्पर्धा भएको थियो । प्रत्यक्षतर्फ दुवै गठबन्धन बहुमत ल्याउन असफल भएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्