Logo

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, ३६ जना प्रहरी घाइते



काठमाडौं, मंसिर १३ । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् । नगर प्रहरी निरीक्षक सूर्य के.सी. का अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

उनका अनुसार सुकुम्बासी बस्तीका मानिसहरूले घरेलु हरियारसहित प्रदर्शन र प्रहरीमाथि ढुङ्गा हानेका थिए । घाइतेमध्ये धेरैको टाउकोमा चोट लागेको र कसैको टाउकोमा ७ टाँकासम्म लगाउनु परेको जानकारी दिँदै नगर प्रहरी निरीक्षक के.सी.ले भने– ‘टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका बिरामी धेरै हुनुहुन्छ ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममा बस्तीमा पुग्न नपाइकन स्थानीयबाट घरेलु हतियारसहित ढुङ्गा आक्रमण भएको बताए । बस्ती हटाउन डोजर लगेपछि सुकुम्बासीहरूले लगातार नाराबाजी र ढुंगामुढा गरेका थिए । बस्ती भत्काउन आउने खबर पाएपछि सुकुम्बासीले बिहानैदेखि सो क्षेत्रमा बाँसका भाटा, ढुंगा र ईंट्टाको टुक्रा तयार पारेका थिए ।

सोमबार दिउँसो करिब ३ बजे डोजरसहित पुगेका वागमती सभ्यता एकीकृत समिति, नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाका प्रहरी टोलीमाथि सुकुम्बासीले ढुंगा प्रहार गरेका थिए । सुकुम्बासीले प्रहार गरेको ढुंगा लागेर कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित डेढ दर्जन महानगर प्रहरी घाइते भएका छन् । नर्भिक अस्पतालमा उपचार गराइरहेका कामपा प्रहरी प्रमुख पाण्डेले सरकारको निर्देशन पालन गर्ने क्रममा जस्तोसुकै परिस्थिति आए पनि बस्ती खाली गराएरै छाड्ने बताए ।

प्रहरी आएलगत्तै सुकुम्बासीले बस्ती छिर्ने बाटो बन्द गरी टायर बालेर विरोध जनाएका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं शहरलाई सुन्दर बनाउन बस्ती हटाउनुपर्नेमा जोड दिँदै आएका छन् ।वागमती सभ्यता समितिले यही मङ्सिर १ गते सार्वजनिक सूचना जारी गरी मङ्सिर ४ गतेसम्म सुकुम्बासी बस्ती खाली गर्न आग्रह गरेको थियो । चुनावको दिनसम्म बस्ती हटाउन सूचना जारी गरेको भन्दै समितिको सर्वत्र विरोध भएको थियो । समिति र महानगरले सरकारको निर्देशन पर्खेर बस्दाबस्दै कुनै निर्णय नआएपछि सोमबार कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डे, प्रहरी र समितिका टोली सोमबार सुकुम्बासी बस्ती पुगेका थिए ।

कामपा प्रमुख बालेन्द्र साह र गृहमन्त्रीको राजीनामा माग गर्दै थापाथलीका सुकुम्बासीले आफूहरूलाई व्यवस्थापन नगरुञ्जेलसम्म बस्ती नछाड्ने अडान राखेका थिए । हाल सो क्षेत्रमा करिब १ सय ४० घरमा करिब ३ हजार सुकुम्बासीको परिवार बसोबास गरिरहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot