Logo

जनमत पार्टीको माग र मुद्दामा सकारात्मक पक्षलाई नै समर्थन रहन्छः डा. सीके राउत



काठमाडौं, १३ मंसिर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा. सीके राउतले मधेस प्रदेशमा आफ्नो पार्टीको उदय भएको बताएका छन् ।
‘मधेस प्रदेशमा हाम्रो पार्टीको सशक्त उदय भएको छ । राष्ट्रिय पार्टी बनिसकेको अवस्था छ । संघमा एक सिट जितेका छौं । समानुपातिकमा पाँच सिट ल्याउने आकलन छ । मधेस प्रदेशको प्रत्यक्षमा ६ सिट जितेका छौं, समानुपातिकमा राम्रो मत छ । जसपाभन्दा अगाडि छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. राउतले भने ।
उनले मधेस र लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको निर्णायक मत रहेको पनि बताए । डा. राउतले भने, ‘गठबन्धनका कारण हामीले प्रत्यक्षमा कम सिट जित्यौं । हामी एक्लै हेलियौं । प्रथम चुनाव भएकाले अनुभवको पनि कमी भयो । तर निर्णायक शक्ति भएको हिसाबमा प्रदेश र संघको दुवै सरकारमा जाने सम्भावना छ ।’
आफ्नो माग र मुद्दामा सकारात्मक पक्षलाई नै समर्थन गर्ने उनले औंल्याए । डा. राउतले भने, ‘हाम्रा माग र मुद्दाप्रति जो सकारात्मक हुन्छ, उसैलाई सावधानीपूर्वक समर्थन दिएर अघि बढ्छौं । हाम्रा एजेन्डा पूरा गर्ने सरकार बनोस् भन्ने हाम्रो चाहना छ ।’
शेरबहादुर देउवाको गठबन्धनमा सामेल हुनुहुन्छ कि केपी शर्मा ओलीको गठबन्धनमा सामेल हुनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘अहिलेसम्म संवाद सुरु भएको छैन, सम्पूर्ण परिणाम आइसकेको पनि छैन । सरकारमा जान नसकिने होइन । तर त्यसका लागि पहिले वातावरण बन्नुपर्यो नि । कसैसँग कुरै नभईकन उसैसँग जान्छु भन्न मिल्दैन ।’
उनले आफ्नो पार्टीले राजनीतिक मुद्दाका साथै सेवा प्रवाहमा पनि जोड दिएको बताए । डा. राउतले भने, ‘हामीसँग राजनीतिक मुद्दा त छँदै छन्, हामीले सेवा प्रवाहलाई पनि उत्तिकै जोड दिएका छौं । सत्ताभन्दा पनि देश विकासलाई महत्त्व दिएकाले नै हामीलाई जनताले रोजेका हुन् ।’ सुकुम्बासी समस्याको डोजर चलाएर भन्दा दीर्घकालीन समाधान खोजिनु पर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्