Logo

एउटा गठबन्धनको भोटमा जितेर अर्कोसँग सरकार बनाउन जानु अनैतिक र जनताप्रति धोका हुन्छः महिन्द्र राय यादव



काठमाडौं, १३ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं सर्लाही २ का नवनिर्वाचित सांसद महिन्द्र राय यादवले अब प्रधानमन्त्रीमा लडाइँ नगरी गठबन्धनको सरकार बनाउनुपर्ने औंल्याएका छन् ।
‘लोकतन्त्र र संविधान रक्षा र समृद्धिका लागि हाम्रो गठबन्धन बनेको हो । सबै दल मिलाएर बहुमत पुग्छ । फेरि पनि गठबन्धनकै सरकार बन्छ । अब प्रधानमन्त्रीको लडाइँ गर्नु हुँदैन । प्रधानमन्त्रीको लडाइँले दुई तिहाइको नेकपा समाप्त भयो । अहिले पनि एमाले, स्वतन्त्र पार्टी र राप्रपा संविधानमाथि प्रहार गर्न उद्यत छन् । त्यसैले जो जो जे जे बन्छ, गठबन्धनभित्रैबाट बन्छ । साझा न्यूनतम कार्यक्रमका आधारमा मिलेर मुलुक चलाउनुपर्ने जनादेश छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।

उनले गठबन्धन दलहरुले सरकार निर्माणमा यताउता गर्न नपाउने पनि चेतावनी दिए । यादवले भने, ‘प्रधानमन्त्रीका लागि विवाद नगरी अघि बढ्नुको विकल्प छैन । प्रधानमन्त्रीका लागि कांग्रेसमा विवाद छ भने कांग्रेसको समस्या कांग्रेसले नै समाधान गर्ने हो । अब वाम लोकतान्त्रिक गठबन्धनबाट दायाँबायाँ लाग्ने छुट छैन । एउटा गठबन्धनको भोट लिएर जित्ने अनि सरकार बनाउन अन्यत्र जान कुन नैतिकताले मिल्छ ? अब यही गठबन्धनलाई बलियो बनाएर जानुपर्छ । अन्यथा नेपाली जनतालाई धोका हुन्छ । एमालेसँग कसरी सहकार्य गर्ने ? उत्तर र दक्षिणको ध्रुव कहिल्यै मिल्छन् ?’
मधेसी जनताका लागि उपेन्द्र यादवले धोका दिएको आरोप पनि यादवले लगाए । उनले थपे, ‘उपेन्द्र यादवले मधेसी हित चाहेको छैन भन्ने चुनावले देखाइसक्यो । सधैं सहिदको ब्याज खाएर हुन्छ ? उपेन्द्र यादव धोकेवाज हो । अब मधेसमुक्ति मधेसी पार्टीबाट सम्भव हुँदैन ।’ उनले डा. सीके राउतको जनमत पार्टी पनि अविश्वसनीय शक्ति भएको आरोप लगाए ।
साथै उनले आफ्नो ध्यान समाजवादी धारको नयाँ पार्टी बनाउनमा रहने बताए । ‘मैले यसपटक नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर लडें र जितें पनि । निकट भविष्यमा माधव नेपाल, प्रचण्ड, बामदेव गौतम, बाबुराम भट्टराई लगायत सबै नेताहरुसँग छलफल गरेर प्रगतिशील समाजवादी केन्द्र बनाउने सोच छ । त्यसलाई वैकल्पिक शक्ति बनाउनुपर्छ । अब सानो सानो पार्टी बनाउने भन्दा पनि ठूलो शक्ति निर्माण गर्ने अभियान अघि बढाउनुपर्छ,’ उनले थपे ।



प्रतिक्रिया दिनुहोस्