Logo

संख्यामा हैन गुणस्तरमा चाहिँ होडबाजी हुनुपर्छ-डा. शैलजा पोखरेल



साहित्य–वार्ता –

डा. शैलजा पोखरेल
पिता/माताः प्रा. डा. माधवप्रसाद पोखरेल÷ शारदा पोखरेल
जन्मस्थानः धरान, विजयपुर
अध्ययनः विद्यावारिधि, नेपाली (नेपाली भाषाको समाजभाषा वैज्ञानिक अध्ययन)
प्रथम प्रकाशित रचनाः नेपाली बृहत् शब्दकोशका वर्णविन्यासको प्रामाणिकता, २०६१
कृतिहरूः
नेपाली बृहत् शब्दकोशका वर्णविन्यासको प्रामाणिकता
नेपाली भाषाको सामाजिक इतिहास
अनुसन्धानात्मक लेखहरूः
नेपाली भाषाको सामाजिक परिचय
वर्णविन्यासबारे सहमति र समस्या
नेपालका लागि आदर्श भाषानीति
नेपाली बृहत् शब्दकोश र वर्णविन्यासका नियम
मानक भाषा र नेपाली भाषाको मानकीकरण
पिजिन तथा क्रिओलको अवधारणा र नेपालीमा क्रिओल

निबन्धात्मक कृतिहरूः
म, ममी र जन्मभूमि
हाम्रो सान्दाजु
आसाममा मेरो माइती
छोरा विदेशिँदा
राम्रो म पुराणलगायत धेरै

प्रकाशनोन्मुख कृतिः निबन्धसङ्ग्रह

यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?
केटाकेटीमा विद्यालयमा भएका गोष्ठीदेखि नै साहित्य लेखन सुरु गरेकी हुँ । अहिले पनि याद छ– पाँच कक्षामा पढेका बेलाको गोष्ठीमा कविता लेखेर दोस्रो भएकी थिएँ ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

मेरो घरेलु वातावरण नै साहित्यिक थियो । मेरा बुबा डा. माधवप्रसाद पोखरेल हामी सानै हुँदादेखि नै निबन्ध लेख्नुहुन्थ्यो । कथाका किताब किनेर ल्याइदिनुहुन्थ्यो । मलाई उहाँका निबन्ध मन पर्छन् । भैरव अर्यालका निबन्ध मलाई धेरै मन पर्छ । म उहाँहरूबाटै बढी प्रभावित छु होला !

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
जाँचका बेला र थेसिस लेख्ने कामका अतिरिक्त म यति धेरै व्यस्त कहिल्यै थिइनँ होला ! तर साहित्यलेखनले भने अलि बिस्तारै तर गति लिएकै बेला छ यतिखेर ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट छु । आजको लेखनमा विविधता छ । कविता र कथा मूल विधा बनेको छ । त्यहाँभित्रबाट पनि अनेक हाँगामा उपविधा फस्टाउँदा छन् । वर्तमान सामाजिक राजनीतिक विकृतिमा व्यंग्य व्यापक छ– जसले समाजलाई साहित्यप्रति चासो दिने बनाएको छ ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

निबन्ध लेखनमा मन लागेको छ । कुरा गरेजस्तै गरेर पाठकका मनमा सजिलै पस्न सकिने विधा भएकाले होला– म निबन्ध लेखनमै रमाउँछु । भाषाका अध्ययनमा समय बिताइरहेकी छु । जसै मनले ठेल्छ– निबन्ध नै लेख्छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

१. विश्व साहित्यका बहुमूल्य कृतिको अनुवाद २.नेपाली साहित्यका बहुमूल्य कृतिको विश्व भाषामा अनुवाद ३.आफ्ना स्रष्टा र विश्व साहित्यका स्रष्टाबीच देशभित्र तथा बाहिर सम्मेलन अनि गोष्ठीको आयोजना एवं विचार आदानप्रदान गर्ने ४.राष्ट्रिय साहित्यिक संस्थामा राजनीतिक दलका कार्यकर्ता भरेर देशका साहित्यकारको अपमान नगर्ने ।

तपाईको साहित्यिक आदर्श के हो ?

पाठकको मन छुन सक्ने र उनीहरुले मेरा साहित्य पढ्दा आफूलाई सम्झिऊन्– यही नै मेरो साहित्यिक आदर्श हो ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
गर्नेले गरी रहेका छन् ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट नै छु तर साहित्यिक लेखनमा भने गति अझै बढाउनु छ ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

आजको साहित्य धेरै कुरामा हिजोभन्दा राम्रो पनि छ, तर अर्कातिर राजनीतिले सर्वत्र साहित्य धमिल्याएको छ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

साहित्य लेखनमा संख्यामा हैन– स्तरमा चाहिँ होडबाजी भए सबै कृति सिँढीजस्तै विकसित हुन्थे भन्ने मलाई लाग्छ । त्यसैले साहित्यमा नयाँपन चाहिन्छ । त्यो नयाँपन शीर्षकमा हुन सक्छ, विषयवस्तुमा हुन सक्छ, प्रस्तुतिमा हुन सक्छ त्यस्तै साहित्य लेखाइका हरेक पक्षमा हुन सक्छ ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?

आफ्नो मन नै सबैभन्दा ठूलो प्रेरणादायी हुन्छ । मन नलागी/नलागी लेख्न बसेमा उत्कृष्ट रचना निकाल्नै गारो पर्छ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

मलाई भान्सामा बसेका बेला पनि नयाँ कुरा फुर्छ । अनि कागजका बट्टामा पनि लेख्छु । अप्ठ्यारो त्यतिबेला पर्छ– जब ती कुरा खोज्छु कागज त अगि च्यातेर फालिसकेकी हुन्छु । त्यसलाई समेट्ने समय भनेको राति नै हो । त्यतिबेला मन शान्त हुन्छ र मन आफैसँग विचार खोतल्न थाल्छ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?

शान्त वातावरण जहाँ म आफैँसित र आफ्नै निबन्धसँग कुरा गर्न पाउँछु ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

मलाई सबैभन्दा मन पर्ने कुरा त्यो पनि अलि÷अलि मनोरञ्जक होस् । त्यही विषय ठीक ठान्छु– जेले मलाई भित्रैदेखि कुत्कुत्याउँछ ।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?

अरूको पढ्नुहोस् । आफ्नो मनमा जे आउँछ– त्यसको कुरा सुन्नुहोस् । तर, सोच्नुपर्छ– त्यसले पाठकमा कस्तो प्रभाव पार्छ । किनकि पाठकका मनमा छुने आफ्ना विचारमात्र सफल हुन्छन् न कि लादिएका विचार ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?

अहिले त मानिस एकै ठाउँमा धेरै समय दिएर पढ्नुपर्ने विधा अलि कम नै रोज्छन् जस्तो मलाई लाग्छ । मेरा विचारमा छोटा कथा, छोटा निबन्ध, कविता र मुक्तक आदि विधामा बढी पाठक छन् र केही स्थायी पाठक उपन्यासमा पनि छन् जस्तो लाग्छ ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?

वास्तविकतामा उभिएको सजीव कल्पनाले समाजलाई नयाँ विचार दिन सक्छ जस्तो मलाई लाग्छ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?

कुनै बेला जब दिमागमा एउटै शीर्षकका अनेक कुरा तँछाड्मछाड गर्दै वा घँचेड्दै आउँछन् ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?

नलजाइकन अनि नडराइकन लेख्नुहोस् । अरूको पढ्दै तर उनीहरूको जस्तो हैन– उनीहरूको भन्दा फरक लेख्ने कोशिस गर्नुस् ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?

राज्यमा जो ठूला पदमा छन्– तिनका चम्चा हुनेलाई स्वार्थ पूरा गर्न र माथि पुग्न अलिक छिटो र सजिलो हुन्छ । नेपालको वर्तमान सामाजिक व्यवस्था नै त्यस्तो होला जस्तो लाग्छ ।

http://www.adbl.gov.np


प्रतिक्रिया दिनुहोस्