Logo

लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक



काठमाडौँ,१३ मँसिर । लैङ्गिक हिंसाबाट प्रभावितलाई जीविकोपार्जनका लागि जीवनोपयोगी तालिम आवश्यक रहेकामा जोड दिइएको छ ।

विराटनगर महानगरपालिकाको सहकार्यमा एबिसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एबिसी नेपालसहित विभिन्न संस्था तथा व्यक्तिले यस्तो हिंसाबाट प्रभावितहरुलाई उनीहरुले जीवन धान्न सक्नेखालको उपयोगी तालिम दिएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए ।

महानगरका कार्यवाहक प्रमुख प्रकाश साहले हिंसा प्रभावितहरुको जीविकोपार्जनका लागि उनीहरुलाई प्रभावकारी हुने तालिम प्रदान गर्नुपर्ने बताउनुभयो । सीपमूलक तालिम लिएर पनि हिंसा प्रभावितहरुले आयआर्जन गर्न नसकेको अवस्था अहिले रहेको दृष्टान्तहरुमा छलफल गर्दै सहभागीहरुले उनीहरुले लिनसक्ने र समाजमा प्रभावकारी हुने सीप सिकाउनुपर्नेमा जोड दिइयो ।

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एबिसीकी अध्यक्ष विष्णु शर्मा पन्तले १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्यक्ष पाँचजनामध्ये एकजनामाथि हिंसा हुने गरेको तथ्याङ्क रहेको सुनाउनुभयो ।

एबिसी नेपालले विराटनगरसहित ओखलढुङ्गा र उदयपुरका विभित्र पालिकामा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सञ्चालन गरिरहेको र यसबाट २३ जनाले सेवा लिइरहेका छन् ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्की, कानुन व्यवसायी कविता बस्नेत, महानगरको महिला तथा बालबालिकाका शाखाका प्रमुख डिल्ली धिमालले हिंसा प्रभावितलाई उनीहरुको रुचि र क्षमतालाई ध्यानमा राखेर तालिम दिन सकिएमा यसले उनीहरुको आयआर्जनमा सघाउ पु¥याउने धारणा राख्नुभयो ।

एबिसी नेपालकी सेल्टर प्रमुख सिर्जनाभण्डारीले यस परियोजनाले गरेका कामकारबाहीका बारेमा जानकारी गराउनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्