Logo

मूर्तिले धानेको जीवन



सहजपुर, १३ मङ्सिर । बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ । बुबाबाट मूर्ति बनाउन सिक्नुभएका उहाँले त्यसैलाई आफ्नो व्यवसाय बनाउनुभएको छ । यसैबाट आफ्नो र परिवारको जीवन पनि धान्नुभएको छ उहाँले ।

सत्र वर्षको उमेरदेखि नै उहाँ निरन्तर रुपमा मूर्ति बनाउँदै आउनुभएको छ । “बुबाले सुनारको काम गर्नुहुन्थ्यो तर बीचबीचमा उहाँले कसैले अर्डर दिए मूर्तिहरु पनि बनाउनुहुन्थ्यो”, अमरले भन्नुभयो, “बुबाले मूर्ति बनाएको देखेर नै मैले पनि सिकेँ, म स्कुलमा पढ्दै गर्दादेखि नै मूर्ति बनाउँदै आएको छु”, उहाँले अहिले मागअनुसार मूर्ति बनाउने गरेको बताउनुभयो । माग आए जस्तोसुकै मूर्ति बनाउन सक्ने उहाँको भनाइ छ ।

यही पेशाबाट उहाँको सातजनाको परिवार चलेको छ । उहाँले सानैदेखिको आफ्नो रुचि भएकाले मूर्ति बनाउने काममा आनन्द आउने गरेको बताउनुभयो । उहाँले कृष्णपुर नगरपालिका–५ मा रहेको आफ्नै घरमा मूर्ति निर्माणको काम गर्दै आउनुभएको छ । सुरुमा घरघरमा गएर मूर्ति बनाउँदै आएको भए पनि १० वर्षअघि देखि मात्रै पसल खोलेर यो काम गरेको उहाँको भनाइ छ । सुदूरपश्चिमका सबै जिल्लाबाट यसको माग आउँछ । उहाँले भन्नुभयो, “अर्डरकर्ताले आवश्यक परेको मूर्तिको फोटो ल्याउँछन्, त्यही हेरेर बनाउँछु ।”

मासिक २५ देखि ३० हजारसम्म कमाउने उहाँले मूर्तिको आकार हेरे मूल्य निर्धारण गर्नुहुन्छ । “मूर्तिको आकार हेरेर पैसाको कुरा गर्छु, किनकि ठूलो मूर्ति बनाउन समय र खर्च बढी लाग्छ”, उहाँले भन्नुभयो, “समय र खर्चको आधारमा मूर्तिको मूल्य निर्धारण गर्छु, कुनै मूर्ति बनाउन त तीनदेखि चार महिनासम्म लाग्छ ।”

महेन्द्रनगरमा रहेको पोखरी कटेजले अर्डर दिएको राना थारूको संस्कृति झल्काउने मूर्ति बनाउन उहाँलाई तीन महिना लागेको थियो । उहाँले सो मूर्ति बनाएबापत आफूले रु एक लाख २० हजार लिएको बताउनुभयो । उहाँले पृथ्वीनारायण शाहको पनि मूर्ति बनाउनुभयो । तेघरीस्थित नेपाली सेनाको ब्यारेकमा राख्न उक्त मूर्ति बनाउन अर्डर आएको र टेन्डर नहुँदा मूर्ति लिन नआएको उहाँले बताउनुभयो । करिब चार महिनामा बनाउने सो मूर्तिको मूल्य एक लाख ५० हजार छ । अहिले उहाँ फूलबारीको एउटा मन्दिरले दिएको अर्डर अनुसारको मूर्ति बनाइरहनुभएको छ ।

मूर्ति बनाउन आवश्यक पर्ने सामग्री पनि आफैँले बनाउने गरेको उहाँले बताउनुभयो । “मूर्तिका सामग्री बजारमा पाइँदैनन् त्यसैले आफैँले बनाउँछु”, उहाँले भन्नुभयो । मूर्ति कोर्न थालेको करिब ३० वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म कुनै ठाउँबाट तालिम नलिएको उहाँले बताउनुभयो । उहाँले स्थानीय सरकारले अन्य व्यवसायमा तालिम सञ्चालन गरे पनि मूर्ति बनाउने विषयमा हालसम्म चासो नदिएको गुनासो गर्नुभयो । “मूर्ति बनाउन इच्छुक धेरै मानिसहरु छन्, तर त्यस्ता मानिसलाई सिकाउन प्रशिक्षण दिने काम भएको छैन ।” व्यावसायिक रुपमा मूर्तिको बजार राम्रो छ । “बजारमा मूर्तिको माग पनि राम्रै छ”, उहाँले भन्नुभयो, “तर हामीले यसलाई व्यावसायिक रुपमा लैजान सकेका छैनौँ ।” रासस



प्रतिक्रिया दिनुहोस्