Logo

एक महिनामा छ लाख मोबाइल प्रयोगकर्ता घटे



काठमाडौं, मंसिर १४ । एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो ।

प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो सङ्ख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन । यो केवल जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र सङ्ख्या हो ।

सेवा प्रदायकले लामो समय प्रयोगविहीन रहेका मोबाइल सिमकार्डलाई निष्क्रिय बनाउँदा प्रयोगकर्ताको सङ्ख्या तथ्याङ्कमा घट्ने गरेको छ । प्राधिकरणले एक वर्षसम्म प्रयोग नभएका सिमकार्ड सेवा प्रदायकले निष्क्रिय बनाउन सक्ने व्यवस्था लागू गरेको छ ।

प्राधिकरणका अनुसार कुल मोबाइल प्रयोगकर्तामध्ये नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नेको सङ्ख्या दुई करोड सात लाख नाघेको छ । त्यस्तै एनसेलको सिमकार्ड प्रयोग गर्नेको सङ्ख्या एक करोड ७१ लाखमाथि छ । स्मार्ट टेलिकमले करिब २४ लाख सिमकार्ड बिक्री गरेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्