Logo

एमालेसँग सहकार्य गर्न माओवादी र नेकपा एस अनिच्छुक



काठमाडौं, मंसिर १४। आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा नआउँदै तीन ठूला कम्युनिस्ट पार्टी मिलेर साना मधेसवादीसहित अन्य दल मिलाएर सरकार बनाउने प्रयास भए पनि सम्भव देखिएको छैन ।

नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस मिलेर सरकार गठन प्रयास भए पनि माओवादी र एकीकृत समाजवादी ‘यथास्थितिमा त्यो सम्भव नभएको’ निष्कर्षमा पुगेका छन् ।

चुनावी परिणाम पूर्ण रूपमा नआउँदै गत ८ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत ‘आगामी दिन मिलेर अघि बढ्न’ प्रस्ताव गरे । प्र्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुभकामना साटासाट गरेका प्रचण्डले ‘आगामी दिन मिलेर जाने ओलीले प्रस्ताव गरे पनि’ ठोस जवाफ भने दिएनन् । ओलीले ‘तिक्तता बढ्दा धेरै टाढा पुगिएछ,’ भन्दै ‘अब मिलेर जाने’ प्रस्ताव गरेका थिए ।

ओली प्रधानमन्त्री रहेको बेला संविधानविपरीत दुई(दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि माओवादी र एकीकृत समाजवादी टाढिएका थिए । सोही कारण माओवादी र एकीकृत समाजवादीले ‘यथास्थिति’मा सहकार्य गर्ने पक्षमा देखिएका छैनन् ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ‘तत्काल वाम गठबन्धन सरकार बन्ने’ सम्भावना नरहेको बताएका छन् । मंगलबार एकीकृत समाजवादी सचिवालय बैठकपश्चात सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले थपे, ‘यथास्थितिमा त्यो सम्भावना छैन ।’

केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला संविधानविपरीत दुई(दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि टाढिएको माओवादी र एकीकृत समाजवादीले ‘ओलीले कमीकमजोरी आत्मसमीक्षा वा आत्मालोचना नगरेकाले अहिलेकै अवस्थामा एमालेसँग सहकार्य गर्न’ नसकिने प्रस्ट पारेका छन्

‘राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडि बढ्छ ?’ भन्ने सन्दर्भमा उनले ‘आफूहरूले गम्भीर चिन्तन तथा मनन गरेको’ सुनाए । ‘देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने हामीले गम्भीरतासाथ लिनुपर्छ,’ नेता नेपालले भने, ‘त्यसैले सतर्क हुनुपर्ने आवश्यकता महसुस ग(यौं । यस हिसाबमा सत्ता गठबन्धनका दलसँगको हाम्रो सहकार्य छ, त्यसलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने ठानेका छौं ।’

गठबन्धनका कारण प्राप्त उपलब्धि रक्षा गर्दै आगामी दिन पनि ‘गठबन्धनकै भावनाअनुसार काम गर्ने पार्टीको निष्कर्ष रहेको’ एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्