Logo

राष्ट्रपति भएँ भने मज्जाले चलाउन सक्छुः झलनाथ खनाल



काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा आफूलाई हातको सफाइ र अन्तर्घातबाट हराइएको आरोप लगाएका छन् ।
‘इलाम १ का जनताले मलाई २०४८ सालदेखि माया गरेका छन् । पटकपटक जिताएका छन् । इलामको विकास गर्ने पात्र पनि मै हुँ । मैले अबौंको योजना लगेको छु । यसपटक मलाई जनताले हराएकै होइनन् । हातका सफाइ र भित्री खेल खेलिए । अन्तर्घात भए,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने ।
उनले कांग्रेसका कार्यकर्ताले द्रव्यमोहमा परेर आफूलाई भोट नहालेको आरोप पनि लगाए । खनालले भने, ‘लोकतान्त्रिक अभ्यासमा कोही हार्छ, कोही जित्छ । त्यो ठूलो कुरा भएन । तर मेरो क्षेत्रको समानुपातिक मत हेर्दा हाम्रो ८ हजार २१, कांग्रेसको १६ हजार ४५०, माओवादीको १ हजार ६४९ मत छ । मैले २६ हजार मत पाउनुपर्नेमा तीन हजार मत कहाँ गयो त ? मैले त जम्मा २३ हजार पाएँ । त्यहाँ द्रव्य वितरण भयो । आलुगोलभेँडाहरु अराजक भए ।’
प्रमुख निर्वाचन आयुक्तले समेत मतगणनामा गडबडी भएको होइन भन्न नसकेको उनको दाबी छ । खनालले थपे, ‘मैले अनियमितता देखेँ, त्यो तथ्यले प्रस्ट पारेका छन् । ४३७ मत कहाँ गयो ? २६६ मत कसले थप्यो ? मैले यही कुरा राख्दा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि लाचारी व्यक्त गर्दै प्राविधिक जवाफ दिनुभयो ।’
उनले साझा नीति र कार्यक्रम बनाएर गठबन्धनकै सरकार बनाउनुपर्नेमा जोड दिए । खनालले भने, ‘अब एकै दलले बहुमत ल्याउन सम्भव छैन । त्यसैले संयुक्त सरकारको संस्कृति विकास नगरी धरै छैन । अब के गर्नेका लागि सरकार बनाउने भन्ने स्पष्ट हुनुपर्छ । अनि मात्र त्यो सरकार दिगो हुन सक्छ ।’
ठूलो दल भएकाले नेपाली कांग्रेसलाई प्रधानमन्त्री माग्ने हक भएको पनि खनालले औंल्याए । उनले थपे, ‘ठूलो दलका नाताले कांग्रेसलाई प्रधानमनत्री माग्ने हक हुन्छ । तर त्यही हुनुपर्छ भन्ने जरुरी छैन । लेनदेन पनि हुन सक्छ । कांग्रेसको साटो माओवादीले पनि प्रस्ताव ल्याउन सक्छ । तेस्रो पार्टी हामी छौं । जनताले त मिल भनेर आदेश दिइसकेका छन् ।’
अब शेरबहादुर देउवा प्रधानमन्त्री र झलनाथ खनाल राष्ट्रपति हुने हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘त्यो मेरो व्यक्तिगत दाबीभन्दा पनि मुलुकको आवश्यकता र दलहरुको निर्णयमा भर पर्छ । किनभने राष्ट्रपति भनेको मुलुकको अभिभावक, एकताको प्रतीक र संविधानको परिपालक हो । विगतमा हामीले परिपक्वता हासिल गरेको व्यक्तिलाई बनाउन सकेनौं र देश दुर्घटनामा गयो । पार्टीले मूल्यांकन गरेर कुरा अघि सार्यो भने म विचार गर्छु । विगतमा प्रधानमन्त्री राम्ररी चलाएकै हुँ । अब राष्ट्रपति भएँ भने पनि मज्जाले कार्यसम्पादन गर्न सक्छु भन्ने मलाई आत्मविश्वास छ ।’

 



प्रतिक्रिया दिनुहोस्