Logo

दलको नेता बन्न गगनले थाले गृहकार्य



काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्को निर्वाचन जितेसँगै दलको नेता बन्ने गृहकार्य थालेका छन् । उनले निर्वाचन लड्नुअघि नै आफू प्रधानमन्त्रीको दाबेदार रहेको भन्दै सोहीअनुसार मत मागेका थिए ।

थापालाई अर्का महामन्त्री एवम् झापाबाट चुनाव जितेर आएका विश्वप्रकाश शर्माले प्रधानमन्त्री बनाउन अभियान नै थाल्ने बताईसकेका छन् । हिजो झापाबाट काठमाडौं ओर्लनेबित्तिकै शर्माले थापालाई उनकै निवासमा पुगेर भेटेका थिए ।

सो भेटमा बधाई साटासाटको साथै दलको नेताको निर्वाचनको तयारीबारे छलफल भएको थियो । थापाले यो निर्वाचनमा निर्वाचित आफ्नो पार्टीका सांसदहरुसँग सम्पर्क बढाएका छन् । उनले फोनवार्ता र भेटवार्तालाई सँगसँगै अघि बढाएका छन् ।

यस्तो भेटवार्ता र फोनवार्ता दुवैमा उनले आफूलाई दलको नेता बनाउन सहयोग माग्ने गरेका छन् । कांग्रेसमा प्रधानमन्त्रीको आकांक्षीहरु धेरै छन् । तर, दलको नेताको निर्वाचन भए सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

थापाले आफ्नो पुस्ताले अब मुलुक अघि बढाउनुपर्ने भन्दै पुस्तान्तरणको एजेण्डा प्राथमिकताका साथ उठाउने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्