Logo

पौडेल निवासमा नेताहरुको चहलपहल, शुभकामना साटासाटसँगै प्रधानमन्त्रीको लागि गृहकार्य



काठमाडौं, १४ मंसिर । नेपालाी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा कांग्रेस नेताहरुको चहलपहल बढेको छ। तनहुँ–१ बाट प्रतिनिधिसभाको लागि निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्री बन्नको लागि दौडधुप सुरु गरेका छन् ।

तनहुँबाट काठमाडौं आएलगत्तै उनले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा पनि उनले आफू प्रधानमन्त्रीको दाबेदार भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । त्यसलगत्तै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

प्रचण्ड र माधव नेपाल दुवै नेतासँगको भेटमा उनले आफू प्रधानमन्त्री बन्न चाहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । दाहाल र नेपालले पनि पौडेललाई अब प्रधानमन्त्रीको हकदार भएको भन्दै सहयोग गर्ने वचन दिएका थिए । यता, पौडेल निवासमा पनि कांग्रेस नेताहरुको चहलपहल बढेकोछ ।

उनलाई शुभकामना दिनेहरुको भीड लाग्ने गरेको छ । आजमात्रै सुंखुवासभाबाट निर्वाचित कांग्रेस नेता दीपक खड्का पौडेल निवास बोहोराटार पुगेका छन् । कांग्रेसका थुप्रै नेताहरुले पौडेललाई अब एकपटक सरकारको नेतृत्वको लागि अवसर दिनुपर्ने आवाज उठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्