Logo

बुथ कब्जा भएको दोलखाका १० केन्द्रमा आज पुन: मतदान हुँदै



काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले ‘बुथ कब्जा’ भएको निष्कर्षसहित निर्वाचन रद्द गरेको दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै छ । आयोगले ‘बुथ कब्जा भएको’ भनिएका दोलखामा १० वटै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने बताएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार १० वटै केन्द्रमा मतदानका सबै तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको छ । आयोगले निर्वाचन सम्पन्न भएको ८ दिनपछि गत ११ मंसिरमा दोलखामा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित विवादित मतदान केन्द्रमा पुनर्मतदान गर्ने निर्णय गरेको हो ।

आयोगले दोलखाका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ को वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ केन्द्रको निर्वाचन रद्द गर्दै पुनर्मतदान गर्न लागेको हो । यसैगरी, वैत्यश्वर वडा ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मा पनि आजै मतदान हुनेछ ।



प्रतिक्रिया दिनुहोस्