Logo

गगन र विश्व युवा हुनुहुन्छ, उहाँहरुको दाबीलाई पनि म स्वाभाविक मान्छु : रामचन्द्र पौडेल



काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ-१ का नवनिर्वाचित सांसद रामचन्द्र पौडेलले पहिलो पार्टी भएको श्रेय पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिनुपर्ने औंल्याएका छन् । संसदमा पहिलो पार्टी भएको श्रेय लिने दौडमा म छैन । शेरबहादुरजी पार्टी सभापति हो । पार्टीलाई पहिलो बनाएको श्रेय उहाँले नै लिनुहुन्छ । त्यसमा मेरो पनि सहयोग छ, प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।

यसपटक देउवाले आफूलाई सहयोग गर्नेमा आशावादी रहेको पनि उनले बताए । पौडेलले भने, ‘शेरबहादुर देउवा पार्टी सभापति हो । केन्द्रीय समितिमा उहाँसँग बहुमत छ । उहासँग शक्ति छैन म भन्दिनँ । तर अरुलाई प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने उहाँको विवेकमा भर पर्छ । अब हामीले देश र पार्टीको आवश्यकता र जनताको मुड पनि हेर्नुपर्यो । देशभरि बजेको घण्टीको आवाज पनि सुन्नुपर्यो । तर मलाई शेरबहादुरजीको सहयोग नमिल्ला भन्ने लाग्दैन । पार्टीभित्र न्याय पनि हुनपर्यो नि । उहाँ त पटक पटक प्रधानमन्त्री भइरहनुभएको छ । यसपालि मैले पाउनुपर्छ ।’

देउवाले तपाईंलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, ‘अहिले राष्ट्रपतिको कुनै प्रसंग छैन, कार्यकारी को हुँदा उचित हुन्छ भन्ने प्रसंग छ । बिना जिम्मेवारीको मानिसले केही गर्न सक्दैन । यसपटक प्रधानमन्त्रीका लागि सशक्त दाबी गरेको छु ।’

यसबारे प्रचण्ड र माधवकुमार नेपालसँग पनि कुराकानी गरेको उनले बताए । पौडेलले थपे, ‘उहाँहरु दुवै नेतासँग मेरो कुरा भएको छ । उहाँहरुलाई मेरो नाममा आपत्ति हुन्न । मुख्य कुरा त हाम्रै पार्टीमा समझदारी हुनुपर्यो । पार्टीमा त्यो वातावरण बनिसकेको छैन ।’

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता प्रस्ताव गरिसक्नुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘कांग्रेस धेरै पुरानो अनुभव र योगदान भएका साथीहरु हुनुहुन्छ । गगन र विश्व युवा हुनुहुन्छ । उहाँहरुको दाबीलाई पनि म स्वाभाविक मान्छु । गगनसँग मेरो कुनै गुनासो छैन । युवाको दाबीलाई नसहने, विरोध गर्ने कुरै छैन । हामीले पनि किसुनजी, गणेशमान र गिरिजाबाबुलाई चुनाव नलड भनेर कागज गराएकै हो । राष्ट्र निर्माणमा युवाको भूमिका जरुरी छ । म त्यसको स्वागत गर्छु । तर वार्धक्य निन्दा गरेर पार्टी चल्छ ? निषेधको राजनीति गर्न मिल्छ ? के बलिदान र योगदानको कदर नहुने ? त्याग, तपस्या र संघर्षको कुनै मूल्य छैन ? देशलाई निकास दिने अनुभवको कुनै मूल्य छैन ?’

चौधौं महाधिवेशनमा देउवा र तपाईंबीच केही गोप्य सहमति भएको थियो भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, ‘त्यस्तो केही सहमति भएको होइन । म निसर्त अलग बसेको हुुँ । मीनेन्द्रजी, शेखरजी, महेशजीले जोगिएर बस्नुस् भन्नुभयो । म नलड्दा मात्र प्रकारान्तरले देउवालाई सहयोग पुगेको हुन सक्छ । तर मैले शेरबहादुर या शेखरलाई भोट हाल भनिनँ । मैले भोट पनि हालिनँ ।’
महाधिवेशनका बेला मुलुकलाई तपाईंको आवश्यकता छ किन भन्नुभयो त भन्ने अर्को प्रश्नमा पौडेलले भने, ‘हो, शेरबहादुरजीले तपाईं स्वास्थ्य राम्रो राख्नुस्, मुलुकलाई तपाईंको आवश्यकता छ भन्नुभएको थियो । मैले तयतिबेला त्यसको परिभाषा खोजिनँ । अहिले आएर त्यसको अर्थ म बुझ्दैछु । उहाँको मुखमा सरस्वती कसरी फुरिन् ? पार्टीमा म सबैभन्दा वरिष्ठ, अवसर नपाएको र परीक्षण नभएको नेता हुँ । म कार्यकारी बन्नु न्यायोचित नै हुन्छ ।’

त्यसो अब पार्टीमा एक व्यक्ति एक पद लागू होला भन्ने प्रश्नमा पौडेलले भने, धेरै वर्षदेखि एक व्यक्ति एक पद भनिँदै आए पनि व्यवहारमा छैन । किसुनजीका पालामा मात्र सभापति र प्रधानमन्त्री छुट्टाछुट्टै हुनुभयो । बीपीदेखि शेरबहादुरजीको पालासम्म त्यो हुन सकेन । एउटा मात्र पद लिएर काम गर्दा देशलाई पनि फाइदा हुन्थ्यो । अब युगको सन्देश बुझ्नुपर्छ । नबुझे हामी फ्याँकिन्छौं ।
गठबन्धनको प्रधानमन्त्री संसदीय दलको नेता नभए पनि हुने उनले जिकिर गरे । पौडेलले भने, कांग्रेसभित्रै प्रधानमन्त्री बनाउने निधो भएपछि गठबन्धनमा कुरा गर्न सजिलो हुन्छ । प्रधानमन्त्रीलाई नै संसदीय दलको नेता बनाए संसदमा सजिलो हुन्छ । उनले गठबन्धन मुलुकको आवश्यकता भएको औंल्याए । पौडेलले थपे, ‘गठबन्धनकै कारण कांग्रेस पहिलो पार्टी भएको छ । म कुनै दललाई दोष दिन चाहन्नँ । नत्र २०७४ को परिस्थिति दोहोरिन सक्थ्यो ।’



प्रतिक्रिया दिनुहोस्