Logo

‘निर्वाचन आयोगले गल्ती गरेको छ, अब नदोहोर्‍याओस’



विनय रावल : मंसिर ४ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । लोकतन्त्रमा निर्वाचन भनेको एउटा पर्वजस्तै हो । आम मतदाताले आफ्नो मत अभिमत गरे जनप्रतिनिधि चयन गर्ने विषय आँफैमा सुन्दर छ । निर्वाचन गराउने मुख्य जिम्मा निर्वाचन आयोगको हुन्छ । आयोगले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा म बधाई दिन चाहन्छु । निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा सम्पन्न गराएकोमा नेपाल सरकार र सम्वद्ध सबै सुरक्षा निकायप्रति पनि कृतज्ञता व्यक्त गर्दछु ।

तर, निर्वाचन आयोगको भूमिकालाई लिएर मेरा केही सवाल छन् । आयोगले निर्वाचनको मुखमा आएर मात्रै निर्वाचनसम्बन्धी गतिविधि गर्नु युक्तिसंगत होईन । यसपटकको निर्वाचनमा त्यस्तै त्रुटि आयोगबाट भएको छ । जुन ठूलो गल्ती हो । आयोगले अहिलेपनि मतदाता शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको छैन् । निर्वाचनप्रति जनताको उत्साह जगाउन आयोगको पनि मुख्य भूमिका हुन्छ । आयोगका पदाधिकारीहरुले निर्वाचनमा मतदाताहरुको उच्च सहभागिताको लागि आगामी दिनमा सकारात्मक भूमिका निर्वाह गर्नैपर्छ ।

आम निर्वाचनमा शतप्रतिसत मतदाताले मतदान गर्ने र मत खसाल्ने सहज वातावरण श्रृजना गर्नु आयोगको कर्तव्य हुन जान्छ । प्रत्येक नागरिकहरूको लागि आफ्नो मतदान एक प्रकारको वैवाहिक परम्पराअनुसार कन्यादानसरह हो । उचित समयमा सुझ–बुझ र विवेक प्रयोग नगरी छोरीको बिवाह गर्दा छोरीको जीवन बर्वाद हुने गरेझैं क्षणिक प्रलोभनमा परी मतदान गर्दा हरेक क्षेत्र र समाजको विकासमा पुर्णबिराम लाग्नुसरह हो । मताधिकारको गलत प्रयोग र मत किनवेचले देशको विकासमा दीर्घकालिन नोक्शानी पुग्दछ । म आँफै बर्दिया–२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार थिएँ । जनताको घरदैलोमा पुग्दै गर्दा मैले आम मतदाताहरुलाई विवेक प्रयोग गर्न आग्रह गरेको थिएँ । निर्वाचन प्रचारको दौरान मैले जे देखें, नेपालको निर्वाचन केन्द्रित राजनीति सही दिशामा अघि बढिरहेको छैन भन्ने कुरा प्रष्ट भएको छ । यसलाई सच्याउनुपर्छ । यसका लागि सबैभन्दा मुख्य दायित्व आयोग र आयोगदमा पदासिन पदाधिकारीहरुको नै हुन जान्छ ।

मतदाताको सहभागिता बढाउने र प्रलोभनमा मतदाता नपरुन् भन्नको लागि आयोगले व्यापक सक्रियताका साथ आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । मैले त निर्वाचनको दौरान बडो दृढताका साथ भन्ने गरेको थिएँ कि ‘मत किनबेच गर्नु भनेको चेलिबेटी बेचबिखन गर्नुसरह हो’’ । यही विषय आयोगले अहिलेदेखि नै तल्लो तहसम्म पुरयाएर राम्रो मतदानसम्बन्धी शिक्षा दिन सक्यो भने भोलिका दिनमा यसले पक्कै सकारात्मक नतिजा निकाल्छ । निर्वाचन आयो अनि आयोग जाग्ने र निर्वाचन सकियो सुत्ने काम भैरहेको छ ।

अब आयोगले यस्तो गल्ती गर्नुहुन्न । अहिलेदेखि नै आम मतदातालाई खासगरी मतदान सकिएकै दिनबाटै मतदाता शिक्षा सञ्चालन गर्नुपर्छ । निर्वाचन हुनु ४/६ हप्ता अगाडि गरिने मतदाता शिक्षा केवल सरकारी कार्यविधि र कागजमा सिमित शिक्षा हो । दिनानुदिन बढ्दै गएको बदर मतको प्रतिशत समेतलाई हेर्ने हो भने कुल खसेको मतको करिब २० प्रतिशत मत बदर भएको छ । यो जटिल समस्या समाधानका लागि निर्वाचन आयोगको यसतर्फ उचित ध्यानाकर्षण गराउन चाहान्छु र छिटो भन्दा छिटो मतदान शिक्षा देशव्यापी रुपमा अघि बढाउन आग्रह गर्दछु । निर्वाचन आयोगले गल्ती गरेको छ, अब नदोहोर्‍याओस । जय राष्ट्रवाद, जय पशुपतिनाथ ।

रावल राप्रपाका युवा नेता हुन् ।



प्रतिक्रिया दिनुहोस्