Logo

७ सय ८ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट



काठमाडौं, मंसिर १६ । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको ब्रोडब्यान्ड परियोजना ७ सय ८ वटा स्थानीय तहको कार्यालयमा पुगेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड सेवा उपलव्ध गराउने १८ वटा प्याकेजमार्फत ७४ जिल्ला अप्टिकल फाइबर बिछ्याउने कार्य गरिरहँदा यतिको संख्या पुगेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्यचौकी, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा सञ्चारको पहुँच पु¥याउने उद्देश्यले प्राधिकरणको २०७३ जेठ ३१ को बैठकको निर्णयअनुरूप ग्रामीण दूरसञ्चार विकास कोषको उपयोग गर्दै आएको छ ।

१८ वटा प्याकेजमध्ये १० वटा प्याकेज सम्पन्न गरी अनुगमन तथा पुनःमूल्यांकनको कार्य सम्पन्न भइसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । आठवटा परियोजनाको तेस्रो चरणअन्तर्गतको मोनिटरिङ तथा भेरिफिकेसनको कार्य बाँकी रहेको बताइएको छ ।

प्राधिकरणका अनुसार परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्ममा ५ हजार ९ सय ३३ वटा वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । यसैगरी ५ हजार ३ सय १८ ओटा माध्यमिक विद्यालयमा पनि ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । ४ हजार २ सय ४९ स्वास्थ्य संस्थामा समेत इन्टरनेट जडान हुँदा प्राधिकरणले १६ हजार २ सय ८ ठाउँमा निःशुल्क ब्रोडब्यान्ड जडान गरेको तथ्यांक रहेको छ ।

यी परियोजनाका लागि हालसम्ममा ५ अर्ब २९ करोड ८७ लाख ९५ हजार ९ सय ९८ रुपैयाँ खर्च भुक्तानी भइसकेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्