Logo

मोरक्को समूह विजेता, बेल्जियम बाहिरियो



काठमाडौं, मंसिर १६ । क्यानडामाथि २–१ को जितसँगै मोरक्कोले समूह ‘एफ’ को विजेताका रूपमा कतार विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।

रूस विश्वकपको उपविजेता क्रोएसिया र तेस्रो स्थानको बेल्जियमका साथै क्यानडाको समूहमा रहेको मोरक्कोले समूहमा सबैलाई आश्चर्यमा पार्दै समूहविजेता बन्यो। पहिलो खेलमा क्रोएसियालाई गोलरहित बराबरीमा रोक्दै जारी विश्वकपमा विशेष छाप छोड्ने संकेत गरेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले स्तब्ध पारेको थियो। जुन नतिजा १९८६ पछि मोरक्कोलाई अन्तिम १६ को टिकट काट्ने लक्ष्यको सारथि बनेको थियो।

त्यसैले बिहीबार तेस्रो खेलमा क्यानडाविरुद्ध मैदान उत्रँदा बराबरीको नतिजा मात्र पनि मोरक्कोको अन्तिम १६ को यात्रा पक्का गर्न पर्याप्त हुने थियो।

खेलको चौथो मिनेटमै हामिक जिएचले गरेको गोलमा मोरक्कोले अग्रता लियो। २३औं मिनेटमा योसुफ इन नेसरीले मोरक्कोको अग्रता दोब्बर पारेका थिए। ४०औं मिनेटमा मोरक्कोका नाएफ अगुर्डले गरेको आत्मघाती गोलमा क्यानडाले खेलमा फर्कने संकेत गरे पनि त्यो सफल भएन। तीन खेलमा सात अंक जोडेको मोरक्को समूह विजेता बन्दा समान खेलमा ५ अंक जोडेको क्रोएसिया उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश ग¥यो। तेस्रो स्थानको बेल्जियमको तीन अंक रह्यो भने चौथो स्थानको क्यानडा अंकविहीन बन्यो।

मोरक्को सन् १९८६ को विश्वकप पछि पहिलो पटक अन्तिम १६ मा प्रवेश गरेको हो। सन् १९७०, १९९४ र १९९८ का साथै सन् २०१८ मा मोरक्कोको यात्रा समूहचरणमा अन्त्य भएको थियो।

यता पहिलो खेलमा क्यानडामाथि १–० को संघर्षपूर्ण जित निकालेको बेल्जियमलाई दोस्रो खेलमा मोरक्कोलाई सुम्पिएको नतिजा महंगो बन्यो।

समूह चरणको अन्तिम खेलमा क्रोएसियाविरुद्ध मैदान उत्रँदा बेल्जियम जित्नै पर्ने दबाबमा थियो भने क्रोएसियालाई एक अंक पनि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त हुने थियो।

पहिलो हाफमा क्रोएसियाले पेनाल्टीको अवसर पाए पनि भिएआरले मान्यता नदिँदा बेल्जियमको संकट टरेको थियो। स्ट्राइकर रोमेलु लुकाकुले एकपछि अर्को गोलको अवसर गुमाएसँगै बेल्जियम निराश भएको हो। बेल्जियम १९९८ को विश्वकपछि समूहचरणबाट बाहिरिएको यो पहिलो पटक हो। विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियमले सन् २००२ र २०१४ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो भने २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।



प्रतिक्रिया दिनुहोस्