Logo

धनगढी : निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीको आन्दोलन



धनगढी, मंसिर १६ । धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो।

प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भएपनि विद्यार्थीहरुले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन्। प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। विद्यार्थीहरुले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन्।

हिजो धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएको थियो। धनगढी–५ तारानगरकी साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो।

उनको मृत्युपछि विद्यार्थीहरु सडकमा टायर जलाउँदै प्रदर्शनमा उत्रिएका छन्।



प्रतिक्रिया दिनुहोस्