Logo

निर्वाचनमा बालबालिकाको दुरुपयोग गर्नेमा एमाले पहिलो



सचिना बानियाँ, १६ मंसिर । राजनीतिक दलहरूले निर्वाचनमा बालबालिका प्रयोग नगर्ने भनेर निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको पाईएको छ । निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाउने ठुला दलहरुबाट नै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ मा बालबालिकाहरु प्रयोग भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले निर्वाचनमा बालवालिकाको प्रयोग गरेका हुन् ।

बालबालिकाहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यको लागि प्रयोग गर्न नपाइने व्यवस्था भएपनि उनीहरुलाई चुनावी प्रचारप्रसारमा प्रयोग गर्ने राजनीतिक दलमा सबैभन्दा अगाडि एमाले रहेको छ । एमालेले ७१ वटा निर्वाचन प्रचारप्रसारका कार्यक्रममा बालबालिकाको प्रयोग गरेको हो ।

अन्य सात दलहरुबाट ३४ र स्वतन्त्र उम्मेदवारहरुबाट १३ वटा कार्यक्रममा बालबालिकाको प्रयोग भएको पाइएको छ । यसैगरी लोकतान्त्रिक–वाम गठबन्धन दलहरुबाट ९८ वटा कार्यक्रममा बालबालिकालाई प्रयोग गरेको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को सर्वेक्षणले देखाएको छ ।

दलगत रुपमा हेर्दा नेपाली काँग्रेसले २२ वटा कार्यक्रममा बालबालिकाको प्रयोग गरेको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले १३ वटा कार्यक्रममा बालबालिकाको प्रयोग गरेको देखिएको छ ।

एमाले, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गठबन्धनबाट नौ, लोकतान्त्रिक वाम–गठबन्धन दलहरूले ५२ वटा कार्यक्रममा बालबालिकाको प्रयोग गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, स्वतन्त्र उम्मेदवारहरूले १३, जसपाले तीन र विवेकशील साझा पार्टी, नेपाल सुशासन पार्टी र जनमत पार्टीले एक÷एक कार्यक्रममा बालबालिका प्रयोग गरिएको पाइएको हो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आठ, लोकतान्त्रिक समाजवादीले तीन वटा घट्नामा बालबालिका प्रयोग गरेको अध्ययनले दखाएको छ ।

विभिन्न राजनीतिक दलहरु तथा स्वतन्त्र उम्मेदवारबाट बालबालिका प्रयोग भएको कुल २१६ वटा घटना सिजपको तथ्याङ्कमा उल्लेख छ ।
गत निर्वाचनमा विद्यायलहरु पनि प्रयोग भएको पाइएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले १५ विद्यालय र नेकपा एमालेले १० गरी कुल २५ विद्यालय गत निर्वाचनमा प्रयोग भएका देखिन्छन् । त्यसैगरी, निर्वाचनमा एउटा विद्यालय बस र चारजना शिक्षकको प्रयोग भएको पाइएको छ ।

कूल २१६ वटा घटनामध्ये सबैभन्दा धेरै प्रचारप्रसार तथा र्यालीमा १४४ कार्यक्रममा बालबालिका प्रयोग भएका छन् । त्यस्तै, घरदैलोमा १२, आमसभामा १८ र प्रचारप्रसार सामाग्रीमा १३ कार्यक्रममा बालबालिका प्रयोग भएका छन् ।

राजनीतिक दलबाट भएका २८ वटा कार्यक्रममा बालबालिकाहरुलाई कलाकारको रुपमा प्रयोग भएको देखिएको छ । देशभर कुल २२ हजार ५ सय मतदान केन्द्र तोकिएकोमा २० हजार बढी सरकारी विद्यालयमा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १५५ जना बालबालिकाको प्रयोग भएको थियो । यसपटकको निर्वाचनमा चुनावी कार्यक्रममा राजनीतिक दलहरुले बालबालिकाहरुलाई ४० प्रतिशतले धेरै प्रयोग गरेका छन् ।

यस्तो छ निर्वाचन आचांरसहिता र कानुनी व्यवस्था
बालबालिका सम्बन्धि ऐन–२०७५ को दफा ७ को उपदफा (७) बमोजिम कुनैपनि बालबालिकालाई सेना, प्रहरी, सशस्त्र समूहमा भर्ना गर्न र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सशस्त्र द्धन्द्ध वा राजनीतिक उद्देश्यको लागि प्रयोग गर्न पाइदैन् ।

विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका–२०६८ को उद्देश्य ४.२ मा विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उल्लेख छ ।

राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्ने कार्यलाई बालबालिकाविरुद्धको कसुर मानिन्छ ।

दफा ६७ बमोजिम यस्तो कार्यमा संलग्न व्यक्ति, नियुक्त, मनोनित वा निर्वाचित हुन १० वर्षसम्म योग्य नमानिने दफा ७२ को उपदफा (३)खण्ड (ख) बमोजिम पचहत्तर रुपैयाँ सम्म जरिवाना र तीन वर्षसम्म कैदको सजाय हुनेछ ।

निर्वाचन आचारसंहितको परिच्छेद–२ को ४ (ड) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot