Logo

जब मन्त्रीले कलकल बगेको मेलम्चीको पानी खाए…



काठमाडौं, १६ मंसिर । बिहीबार बिहानै काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका हालै निर्वाचित प्रकाशमान सिंह नेतृत्वको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्यो । टोलीमा हालै काठमाडौं क्षेत्र नम्बर १ (१) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित दिपेन्द्र श्रेष्ठ, काठमाडौं क्षेत्र नम्बर १ (२) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित सुरजचन्द्र लामिछाने, काठमाडौं क्षेत्र नम्बर ३ (१) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, बागमती प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार लिलेन्द्र प्रसाद प्रधानलगायत रहेका थिए ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको मेलम्ची खानेपानीको सपना साकार हुन यत्रो वर्ष लागेकोमा नेपाल सरकारका उपप्रधानमन्त्री समेत रहेका प्रकाशमानले विशेष चासो देखाए । मेलम्ची खानेपानीका कर्मचारीले ढिलाई हुनुमा सुरुवाती चरणको काम, ठेकेदार भाग्नु, भूकम्प, कोरोनालगायतको कारण सुनाए ।

२०७८ असार १ गते गएको विनासकारी बाढीरपहिरोले क्षतविक्षत भएको मेलम्ची खानेपानी आयोजनाको मुहान र अवस्थाको जानकारी लिँदै दीर्घकालीन रूपमा काठमाडौंमा निरन्तर पानी लाने विषयमा प्रकाशमानले जिज्ञासा राखे । मेलम्चीका कर्मचारीले काठमाडौंमा पानी निरन्तर झार्ने अस्थायी र स्थायी विकल्पबारे प्रस्ट्याए । त्यसलगत्तै टोली काठमाडौंतर्फ पानी पठाएको सुरुङको मुखमा पुग्यो ।

बागमती प्रदेशका संस्कृत तथा पर्यटनमन्त्री समेत रहेका दिपेन्द्र श्रेष्ठले कलकल बगेको मेलम्चीको पानी खादै यो पानी काठमाडौंवसीको तिर्खा मेटाउने महत्त्वपूर्ण स्रोत रहेको अभिव्यक्ति दिए । ‘यो पानी आफू मात्र खाने होइन काठमाडौंवासी लाई पनि खुवाउने हो’, कलकल बगेको पानी पिउँदै बागमती प्रदेशका मन्त्री दिपेन्द्र श्रेष्ठले भने । उनले मेलम्चीसहित बैकल्पिक स्रोत व्यवस्थापन गरेर पनि काठमाडौंवासीलाई खानेपानीमा परेको समस्या समाधान गर्न पर्ने प्रतिक्रिया दिए । मंसिर २७ सम्ममा काठमाडौंवासीले मेलम्चीको पानी खान पाउने दिपेन्द्रले जानकारी दिए ।

प्रकाशमानसामु कर्मचारी र गाउँपालिकाको मागको थुप्रो

हालै आफूलगायतलाई निर्वाचित गराउने काठमाडौंवासी पानी खुवाउने हुटहुटीका साथ मेलम्ची पुगेका प्रकाशमानसामु मेलम्चीका कर्मचारीदेखि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले समस्याको पोको खोलिहाले ।

निमाले प्रकाशमानसहितका सांसदलाई स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा विकास गर्नेदेखि काठमाडौंवासीले खानेपानीमा तिरेको पैसाको आम्दानीबाट २५ प्रतिशत हेलम्बुमा आउने व्यवस्था गरिदिन आग्रह गरे । मेलम्चीमा ठूलो क्षति हुँदा पनि संघ र प्रदेश सरकारले नहेरेको उनको गुनासो छ । ‘काठमाडौंलाई पानी दिएबापत पानी पठाउने मेलम्चीले के पाउने त ? उच्च शिक्षा पढ्ने राम्रो क्याम्पस भवन, स्वास्थ्य पूर्वाधार पिच बाटो र बाढी र पहिरोले क्षति भएका घर बनाउन सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइदिनु पर्‍यो’, निमाले प्रकाशमानसामु माग राखे ।

मेलम्चीको पानी सित्तैमा काठमाडौंवासीले खान पाउछन् भने आफूहरूलाई एक पैसा पनि नचाहिने भन्दै गाउँपालिका प्रमुख निमाले पैसा उठाउने भए त्यसको २५ प्रतिशत मेलम्चीको विकासमा खर्च गर्ने कानुन बनाउनु पर्नेमा जोड दिए । मेलम्चीका कर्मचारीले विकास बोर्ड खारेज भएकाले तलबभत्ता पाउन नसकेको भन्दै त्यसका लागि आवाज उठाइदिन आग्रह गरे । मेलम्चीका मेयर आइतमानले बाढीले क्षतिग्रस्त पुल, नदी तट नियन्त्रणमा भूमिका खेलिदिन आग्रह गरे ।

मेलम्चीमा काठमाडौंका जनप्रतिनिधि नआएको र खानेपानीमन्त्री काठमाडौंबाहिरको हुँदा स्थानीय आवश्यकता नसुन्ने र पानी मात्र लान खोज्ने गरेको उनीहरुको भनाइ छ । यी सबै कुरा सुनेपछि प्रकाशमानले सबै कुरा सम्बन्धित ठाउँमा राखेर समस्या समाधानमा पहल गर्ने आश्वासन दिए । कर्मचारीको समस्या, स्थानीयस्तरको माग सबै कुरामा आफू सकारात्मक रहेको उनले प्रतिक्रिया दिए । प्रकाशमानले मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा आउने गरी व्यवस्था मिलाउन आग्रह गरे । उनले काठमाडौंमा बैकल्पिक स्रोतबाट पनि खानेपानी व्यवस्थापन गरिने बताउँदै आएका छन् ।

प्रकाशमान मेलम्ची पुग्दा उनीहरू अत्यान्तै उत्साहित देखिन्थे ।



प्रतिक्रिया दिनुहोस्