Logo

निगमका जहाजमा समस्या, यात्रुलाई सास्ती



काठमाडौ, मंसिर १७। नेपाल वायु सेवा निगमको व्यवस्थापनको लापरबाही र जहाजमा आउने प्राविधिक समस्याले समय समयमा यात्रुले सास्ती भोग्दै आएका छन् । सेवा स्तरीय नभएको, महँगो भएको तथा सेवाबारे विभिन्न समस्या रहेको लगायतका गुनासा बढ्दै गएको छ ।

निगम व्यवस्थापन चुस्त नहुँदा आन्तरिकदेखि अन्तर्राष्ट्रिय तर्फका यात्रुले सास्ती भोग्दै आएका छन् । कहिले उडान अनुमति नै नलिई यात्रुलाई विमान स्थलमा बोलाएर कहिले टिकट लिएका यात्रुलाई जहाजका सबै सिट भरिभराउ भयो भनेर कहिले बोर्डिङ पास लिइसकेका यात्रुलाई उडान नगराएर समस्यामा पार्दै आएको निगमका जहाजमा आउने प्राविधिक समस्याका कारणसमेत यात्रुले सास्ती भोग्न थालेका छन् । त्यस्तै पछिल्लो सास्ती बुधबार बैङ्कक उडेको निगमको न्यारोबडी विमानमा देखिएको प्राविधिक समस्याले जहाजमा सवार १५२ जना यात्रुले भोग्नुपरेको छ ।

उक्त उडानका क्रममा विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्केतपछि जहाज बङ्गलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ हुन पुगेको थियो । जाँच गर्दा जहाजमा कुनै खराबी नदेखिएपछि कम्पार्टमेन्टबाट बाहिर निकालिएको कार्गो ओरालिएको थियो । करिब चार घण्टापछि जहाज गन्तव्यमा पुगेर बिहीबार नेपाल फर्किएको छ ।

उक्त उडानमा देखिएको भनिएको समस्याकै कारण निगमले शुक्रबारको काठमाडौँ–बैङ्कक उडानको समयतालिका परिवर्तन गरेको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले जहाज थोरै र उडान गन्तव्य धेरै भएकै कारण जहाजमा बेलाबखत प्राविधिक समस्या देखिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जहाजमा प्राविधिक समस्या आउनु सामान्य कुरा भए पनि प्राविधिक चेक जाँचपछि आवश्यक पर्ने उपकरण तथा पार्टपुर्जा सहज रूपमा उपलब्धता नहुँदा जहाज ग्राउन्डेड हुने गरेका छन् । उडानका क्रममा जहाजमा समस्या देखिए सुरक्षित अवतरण गराउनै पर्छ ।”

हाल निगमसँग अन्तर्राष्ट्रियतर्फ चारवटा मात्रै जहाज रहेको १० वटा गन्तव्यमा उडान भर्नुपर्ने भएका कारण कहिले उडान ढिला हुने, कहिले जहाजमा प्राविधिक समस्या देखिने गरेको उहाँले बताउनुभयो । सरकारी निकाय भएकाले राज्यको जिम्मेवारी बोकेर विभिन्न गन्तव्यमा उडान भर्दा नसोचेको समयमा समस्या आउँदा यात्रुले समेत सास्ती भोग्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

निगमको जहाजमा उडान गर्ने यात्रुले बेलाबेला सास्ती भोग्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई स्पष्टीकरण सोधिसकेको छ । यसअघि मङ्सिर ११ गते निगमको जहाजमार्फत काठमाडौँबाट मुम्बई जान लागेको जहाज स्टार्ट नभएपछि १५२ जना यात्रुले सास्ती भोग्नु परेको थियो । उक्त उडानका यात्रुलाई समेत जहाजबाट ओरालेर करिब दुई घण्टापछि अर्को जहाजबाट मुम्बई पठाइएको थियो ।

गत मङ्सिर २ गते काठमाडौँबाट दोहा उड्न लागेका यात्रुहरूलाई जहाजका सबै सिट भरिएको भन्दै निगम व्यवस्थापनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको थियो । त्यस दिन टिकट लिएर एयरपोर्ट पुगिसकेका यात्रुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रु विरोध जनाउन प्राधिकरणको कार्यालय पुगेका थिए ।

गत कात्तिक १० गते शान्ति सेनामा खटिएका नेपाली सैनिक बोकेर पश्चिम अफ्रिकाको माली पुगेको निगमको नाइनएन– एकेडब्लू (सगरमाथा) न्यारोबडी जहाजको टायर पन्चर भएपछि दशैँ मनाउन नेपाल फर्कन लागेका ७५ सैनिक एक साता उतै रोकिएका थिए । निगमले त्यो समय जगेडा टायरको व्यवस्था नगर्दा युद्धग्रस्त क्षेत्रमा यात्रुको विचल्ली भएको थियो ।

त्यस्तै साउन पहिलो साता निगमको सगरमाथा नाम दिइएको न्यारोबडी जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौँमा ग्राउन्डेड गरिएको थियो । त्यो समयमा इन्जिन फेर्न निगम व्यवस्थापनलाई झन्डै दुई महिना लागेको थियो । त्यसअघि सोही जहाजको इन्जिनमा समस्या देखिएपछि पुस १३ गते दोहामा ग्राउन्डेड भएको थियो ।

पछि भाडाको इन्जिन राखेर उक्त जहाज नेपाल ल्याइए पनि साउन अन्तिम साता दायाँ इन्जिनमा समस्या देखिँदा करिब १५ दिन जहाज काठमाडौँमै ग्राउन्डेड भएको थियो ।

त्यस्तै भदौ २९ गते निगमको वाइडबडी ए–३३० (९ एन–एएलजेड) जहाजको एउटा टायर फेर्न नसकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिँदा काठमाडौँबाट दिल्ली जाने २१५ जना र दिल्लीबाट काठमाडौँ आउन पर्खिरहेका २७० जना यात्रुले सास्ती भोगेका थिए । सोही दिन १८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको निगमको वाइडबडीको कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौँ फर्किएको थियो । त्यसअघि असार १६ गते काठमाडौँबाट भारतको ब्याङ्लोरका लागि हुने उडानमा चालकको अभाव देखाउँदै निगमले उडान रद्द गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्