Logo

एकल पुरुषलाई पनि भत्ता दिन सुरु



सिन्धुपाल्चोक, मंसिर १७ । सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।

इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । गाउँपालिकाको आव २०७९र८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ ।

हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताए । हेलम्बु गाउँपालिकाले एकजनालाई रु पाँच सय दिने व्यवस्था गरेको छ ।

विदेश जाने महिला बढे

अक्षर नचिनेका र राम्रोसँग नेपाली बोल्नसमेत नजान्ने एउटै गाउँका सयभन्दा बढी महिला कामका लागि खाडीमुलुक गएका छन् । गाउँमा आम्दानीको स्रोत नभएको भन्दै तामाङको बाहुल्यता रहेको सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी थाङपाल गाउँपालिका–८ भोटेनाम्लाङका महिला रोजगारीका लागि खाडीमुलुक गएका छन् ।

यहाँका स्थानीय लक्ष्मण तामाङका अनुसार प्रायः यहाँका महिला लेवनान गएका छन् । यहाँका १४र१५ वर्षका किशोरी पनि पैसा कमाउन खाडीमुलुक गएका छन् । केही त आधारभूत तहको शिक्षा पूरा गरी विदेश गएको उनले बताए ।

स्थानीय रुक्मणी गुरुङका अनुसार यहाँका महिला घरको काम गर्ने भन्दै लेवनान, कुवेत, साउदीअरब, बहराइनलगायतका मुलुक जाने गरेका छन् । महिला मात्र होइन गाउँमा विदेशिने पुरुषको सङ्ख्या पनि बढी छ । गाउँमा आम्दानीको स्रोत नहुँदा र खान पुग्ने गरी उब्जाउ जमिन नहुँदा आफ्ना मानिसले विदेशिनुपरेको गाउँलेको दुःखेसो छ ।



प्रतिक्रिया दिनुहोस्