Logo

‘शेरबहादुर देउवाबाहेक अरूलाई प्रधानमन्त्री बनाउँदा गठबन्धन सुरुमै भत्किन सक्छ’



काठमाडौं, १७ मंसिर । सिन्धुली १ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता श्याम घिमिरेले गठबन्धन सरकारको प्रधानमन्त्रीमा शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन् ।
‘गठबन्धनको सरकार बन्ने निश्चितप्रायः छ । गठबन्धनभित्र सिट संख्याका हिसाबले कांग्रेसको नेतृत्वमा सरकार बन्दा प्राकृतिक बन्छ । कांग्रेसमा पनि शेरबहादुर देउवाबाहेक विगतमा पटकपटक त्रिशंकु सरकार चलाएको अनुभव र सामर्थ्य अरुमा देखिँदैन । यो वस्तुगत आवश्यकता हो । अरुलाई प्रधानमन्त्री बनाइयो भने यो गठबन्धन सुरुमै भत्किन सक्छ । एक खालको स्थायित्व भएपछि अरुलाई पनि दिन सकिएला । तर अहिले शेरबहादुर देउवाको विकल्प छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै घिमिरेले भने ।
पार्टीभित्र गगन थापाको चुनौतीलाई कसरी लिनुभएको छ भन्ने पत्रकार धमलाको प्रश्नमा घिमिरेले थपे, ‘गगन थापा सम्भावना बोकेको नेता हो । उहाँ प्रधानमन्त्री बन्न सक्ने नेता हो । तर अहिले गठबन्धनलाई अनुभवी नेता नै चाहिन्छ । कांग्रेसको मात्र एकल सरकार भए गगन वा जो भए पनि हुन्थ्यो । तर गठबन्धनका सबै दलले मान्ने मान्छे, ज्येष्ठ र अनुभवी देउवा नै हो । हामी चुनाव पनि हामी उहाँकै नेतृत्वमा लडेका थियौं ।’
कांग्रेसमा युवाहरुलाई पर्याप्त स्थान रहेको पनि उनले बताए । घिमिरले भने, ‘पार्टीको उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरु युवा नै छन् । थुप्रै युवाहरु मन्त्री भइसकेका छन् । एकैचोटि प्रधानमन्त्री वा पार्टी सभापति नै बन्नुपर्छ भन्ने पनि छैन । पार्टी सभापति देउवाले चाहनुभयो भने प्रधानमन्त्री उहाँ नै हो । गगन र रामचन्द्र पौडेल पछि प्रधानमन्त्री बन्न सक्नुहोला ।’



प्रतिक्रिया दिनुहोस्