Logo

रामकुमारी झाँक्री भन्छिन्- चुनाव सकिनासाथ गठबन्धन फेरेर हिँड्न मिल्ला र ?



काठमाडौं, १७ मंसिर । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले पार्टीका समानुपातिक उम्मेदवारहरुका कारण राष्ट्रिय दलको मान्यता नपाउने स्थिति आएको बताएकी छन् ।
‘हामी विभाजित भएको नयाँ पार्टी थियौं । हामीले बहुसंख्यक भोट गठबन्धनको लिनुपर्ने थियो । भोट ट्रान्सफरमा पनि केही समस्या भयो होला । एउटै दलमा जसरी कार्यकर्ता परिचालित नहुने समस्या पनि भयो । उम्मेदवारको पनि सीमा हुन्छ । हामीले प्रत्यक्षतर्फ भोट माग्यौं तर समानुपातिक उम्मेदवारहरुले मतदातामा खासै प्रभाव पार्नुभएन । समानुपातिकमा पहिले जितेकालाई उम्मेदवार बनाइएन । अग्रगमन, संविधान रक्षा, समृद्धि र सुशासनको एजेन्डा बुझाउन पनि सकेनौं । त्यसकारण पनि पार्टीले मान्यता पाउन समस्या भयो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाँक्रीले भनिन् ।
गुल्मी २ मा आफ्नो हारलाई राजनीतिक घटनाका रुपमा लिएको पनि उनले बताइन् । झाँक्रीले भनिन्, ‘राजनीतिमा पात्रहरु कहिले अगाडि र कहिले पछाडि हुन्छन् । यसले राजनीतिक मुद्दालाई फरक पर्दैन । मैले २६ हजार ४०० मत पाएँ । समानुपातिकमा त्यस अनुसार मत आएन । मैले चुनाव हारें, फलानाले भोट हालेन र अन्तर्घात गर्‍यो भन्न मिल्दैन । अन्तर्घात हुने परिस्थिति बनाउन नसक्नु त मेरै कमजोरी हो नि ।’
नेकपा (एकीकृत समाजवादी) ले अहिले गठबन्धनबाट बाहिरिन नमिल्ने पनि उनले स्पष्ट पारिन् । झाँक्रीले थपिन्, ‘पार्टीभित्र बहस त स्वभाविक हो । तर यति छिटै एजेन्डा फेरेर हिँड्न मिल्छ जस्तो मलाई लाग्दैन । निर्वाचन अगाडि एउटा, निर्वाचनपछाडि अर्कातिर हिँड्न मिल्ला र ?
एमाले र कांग्रेस मिलेर सरकार बनाउने स्थिति आउँछ भन्ने प्रश्नमा झाँक्रीले भनिन्, ‘संविधानले सरकार बनाउने विभिन्न विकल्प दिएको छ । संविधानको ७६ (२) ले संयुक्त सरकारको विकल्प पनि दिएको छ । तर तयो राजनीतिक हिसाबले ठीक हुन्छ कि हुन्न ? साना दललाई प्रतिपक्षमा राखेर संसद् कति प्रभावकारी हुन्छ ? मलाई लाग्छ, प्रारम्भिक आँकडा हेर्दा गठबन्धनकै बहुमत पुग्छ ।’ ठूलो पार्टीको हिसाबले प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक हुने पनि उनले बताइन् ।
सुकुम्बासीको नाममा राजनीति हुने गरेको औंल्याउँदै उनले महानगरपालिकाको कदम सही भएको बताइन् । झाँक्रीले भनिन्, ‘जहाँको लालपुर्जा, त्यहीँको मतदाता बनाउने भन्दै नेताहरुले सुकुम्बासीको नाममा राजनीति गरिरहेका छन् । भोट बैंकका रुपमा प्रयोग गरेका छन् । अब सुकुम्बासीलाई नदी किनारामा राख्ने होइन, सुकुम्बासी र हुकुमबासीको छानबिन गरेर आवासमा राख्ने हो ।सुकुम्बासीले युएन पार्कअगाडि नै जग्गा चाहिन्छ भन्नु अति हो । छाप्रो हालेकै ठाउँकै लालपुर्जा चाहिन्छ भन्नु पनि दादागिरी हो । सुकुम्बासीलाई जग्गा नै दिने हो भने, जहाँको नागरिकता छ, त्यहाँ दिने हो । महानगरले गर्नुपर्ने काम गरेको छ ।’



प्रतिक्रिया दिनुहोस्