Logo

प्रचण्डहरू फेरि प्रधानमन्त्री भएर मुलुकले निकास पाउँदैनः मानुषी यमी भट्टराई



काठमाडौं, १७ मंसिर । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं ७ मा आफ्नो पराजयबाट राजनीतिक शिक्षा लिएको बताएकी छन् ।
‘काठमाडौं ७ मा चुनाव लड्नका लागि मैले गठबन्धनमा नहुँदादेखि नै लामो तयारी गरेकी थिएँ । हँसिया हथौडा ठूलो चुनौती हो भन्ने पनि मलाई पहिले नै थाहा थियो । तर राजनीतिक आधार जतिसुकै कमजोर भए पनि आशाको किरण राख्नुपर्छ भनेर म लागिरहेकी थिएँ । मैले हारे पनि मेरो चुनाव चिह्नको भन्दा ६ गुना बढी मत पाएकी छु । गठबन्धनबाहेकको स्वतःस्फूर्त मत पनि पाएँ । यो सम्मानजनक मत हो । अझ मिहिनेत गर, प्रतिपक्षमा बसेर निगरानी गर भन्ने मत हो । पराजयबाट धेरै शिक्षा लिएकी छु,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मानुषीले भनिन् ।

निर्वाचनमा जनताले घण्टीमार्फत दल र गठबन्धनप्रति राजनीतिक आक्रोश पोखेको पनि उनले बताइन् । स्वतन्त्र पार्टीहरुको उदय तात्कालिक प्रतिक्रियामात्र भएको उनको टिप्पणी छ । तपाईं त पिता बाबुराम भट्टराईको गोरखामा उठ्नुपर्थ्र्यो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, ‘गोरखामा पार्टी बनाउने अरु नै हुनुहुन्छ । म नेपाल समाजवादी पार्टी बागमती प्रदेशको मुख्यसचिव भएकाले काठमाडौं ७ मा उठेकी हुँ। बाबुरामले छोरीका लागि गोरखा छाडेको भन्ने आरोप निराधार हो । म पनि बाबुरामले गोरखा छाड्नुहुँदैन भन्ने पक्षमा थिएँ । संसदमा उहाऊको आवश्यकता छ भन्ने मेरो मत थियो । प्रचण्डसँग त्यसरी लेनदेन गरेको भए वा छोरीलार्ई नै जिताउने भएको भए त जसरी पनि गोरखा नै लानुहुन्थ्यो नि ।’
अब बाबुराम भट्टराई राष्ट्रपति बन्न लाग्नुभएको हो भन्ने अर्को प्रश्नमा उनले भनिन्, ‘नेपाल हल्लै हल्लाको देश हो । यसको पछाडि लागेर साध्ये हुँदैन । कुनै पनि विषयलाई यति हल्काफुल्का रुपमा लिनुहुँदैन । बाबुरामको ज्ञान, क्षमता र अनुभव के गर्दा सदुपयोग हुन्छ ? त्यो गर्नुपर्छ । त्यसका लागि उहाँ राष्ट्रपति बन्ने हो कि होइन, उहाँसँगै कुरा राख्नुस् न ।’
मानुषीले प्रचण्ड वा शेरबहादुर देउवा प्रधानमन्त्री भएर मुलुकले निकास नपाउने पनि औंल्याइन् । उनले थपिन्, ‘म युवा राजनीतिकर्मी हुँ । म व्यक्ति व्यक्तिको एजेन्डामा चासो राख्दिनँ । तर के फेरि तिनै पात्र र अनुहार आएर देशले निकास पाउँछ ? फेरि प्रचण्ड वा देउवा प्रधानमन्त्री भिएर के नयाँ राजनीतिक कार्यक्रम आउँछ ? चुनावमा पुराना दलप्रति प्रश्न उठेको होइन ? सरकारमा, जनजीवनमा र पार्टीमा के नयाँपन आउँछ ? अब प्रचण्डहरुले अभिभावकत्व लिएर बसे हुन्छ ।’
आफूले माओवादी केन्द्रको चिह्न लिएर उठे पनि माओवादी भइनसकेको उनको स्पष्टीकरण छ । मानुषीले भनिन्, ‘माओवादी निरन्तर खुम्चिँदै गएको छ । यसो भन्दा मलाई दुःख लाग्छ । म माओवादी बनिसकेको छैन । यसलाई पुनर्गठित गर्नुपर्छ । अब पुराना माओवादी मात्र एक ठाउँमा आएर नयाँ पार्टी बन्दैन । यही स्वरुपको माओवादी मलाई मान्य छैन ।’

 



प्रतिक्रिया दिनुहोस्