Logo

फ्रान्सलाई पोल्याण्डको चुनौती



काठमाडौं, मंसिर १८ । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने अन्तिम १६ को तेस्रो खेलमा साविक विजेता फ्रान्सलाई पोल्याण्डले चुनौती पेश गर्दैछ । अल थुमामा स्टेडियममा हुने खेल राति ८:४५ बजे शुरु हुनेछ ।

उपाधि रक्षा गर्ने लक्ष्यसहित कतार पुगेको फ्रान्स आजको खेलमा पोल्याण्डलाई हराउँदै क्वाटरफाइनलमा पुग्न चाहन्छ । पहिलोपटक लगातर तेस्रोपटक नकआउट चरण खेल्न लागेको फ्रान्स सन् २००६ पछि समूहचरण पार गर्ने पहिलो साविक विजेता टोली बनेको हो । फ्रान्सले खेलेको पछिल्लो ५ प्रि-क्वाटरफाइनलको खेलमा विजयी भएको छ ।

समूहचरणको अन्तिम खेलमा टुनिसियासँग १-० गोलले पराजीत भएपनि फ्रान्स समूह ‘डी’बाट शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । समूहचरणको पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोलले हराएको थियो भने दोस्रो खेलमा डेनमार्कमाथि २-१ गोलको जीत निकालेको थियो ।

यता समूह ‘सी’बाट उपविजेताको रुपमा नकआउट चरणमा पुगेको पोल्याण्डको लागि समूहचरण मिश्रित रह्यो । ३६ वर्षपछि नकआउट चरण खेल्न लागेको पोल्याण्ड समुहचरणको पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेको पोल्याण्डले दोस्रो खेलमा साउदी अरेबियालाई २-० गोलले हराउँदै समग्रमा ४ अंक जोडेको थियो । तेस्रो तथा अन्तिम खेलमा लियोनल मेस्सीको पेनाल्टीलाई सेज्नीले बचाएपनि अलेक्सिस अलिस्टर र जुलिएन अल्भारेजलाई रोक्न नसक्दा २-० गोलले पराजीत भएको थियो ।

तेस्रो स्थानमा रहेको मेक्सिकोसँग समान अंक भएपनि पोल्याण्ड उत्कृष्ट गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको थियो । पछिल्लो समय पोल्याण्डको फ्रान्ससँगको इतिहास सुखद छैन । दुई टोलीबीच भएको पछिल्लो ७ खेलमा फ्रान्स अपराजीत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्