Logo

लैंगिक हिँसा विरुद्ध सचेतना जगाउदै कानूनका विद्यार्थी (फोटोफिचर)



बुटवल, मङ्सिर १९ । लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान पारेर कालिका मानवज्ञान माविका कानून विषय पढिरहेका विद्यार्थीहरुले माध्यमिक तहका विद्यार्थीहरुको लागि कानूनी सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

स्कूले बालबालिकाहरुलाई लैंगिक हिँसा र मानव अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गर्नका लागि कालिका मानवज्ञान माबी बुटवलमा कानून अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरु आइतबार रुपन्देही र पश्चिम नवलपरासीका ३८ वटा विद्यालयमा पुगेका थिए ।

लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न विद्यालयमा पुगेका विद्यार्थीहरुले आफुले सिकेका र समसामयिक कानूनी कुराहरु विद्यार्थीहरुलाई सिकाएका थिए ।

 

कक्षा कोठामा पढेको र अन्यत्र सिकेका कुराहरु आफूभन्दा साना विद्यार्थीहरुलाई सिकाउँन पाउदा फरक अनुभूति भएको र लैंगिक मुद्दामा समुदायमा बोल्न सक्ने हिम्मत आएको कार्यक्रममा सहभागी विद्यार्थीहरुले बताए ।

‘कक्षाकोठामा प्राप्त गरेको ज्ञानले कानून र अधिकार बुझ्न मद्दत पुगेको थियो । विभिन्न विद्यालयमा गएर अरुलाई ति कुराहरु सिकाउदा समाजमा कानून र अधिकार प्रतिको बुझाई कति कमजोर रहेछ भन्ने जान्न सकियो’ कानूनी सचेतना कार्यक्रम लिएर जनहित माबी कान्छीबजार पुगेकी समिक्षा भण्डारीले बताईन ।

शंकरनगर दुर्गादत्त माविका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले विद्यार्थीहरुद्वारा विद्यार्थीहरुलाई सिकाउदा स्कूले बिद्यार्थीहरुले खुलेर आफ्ना समस्याहरु राख्न र छलफल गर्नसक्ने भएकोले यस्ता कार्यक्रमहरु राज्यस्तरबाट पनि संचालन गर्नुपर्ने बताए ।

 

कालिका मानवज्ञान माविले हरेक वर्ष मानव अधिकार दिवस र लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विद्यालय र समुदायमा आधारित कानूनी सचेतना कार्यक्रमहरु गर्दै आएको छ । यसै अन्तर्गत आइतबार कक्षा ११ र १२ मा कानून अध्ययन गर्ने विद्यार्थीहरु एकै समयमा ३८ विद्यालयका ५ हजार भन्दा बढी स्कूले विद्यार्थीहरुलाई लैंगिक हिँसा र मानव अधिकार, नेपालको कानून तथा संबिधान, नागरिक भूमिका र कर्तब्य, लागू औषध दुर्व्यसन सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

कानून पढ्ने विद्यार्थीहरु अन्य विद्यार्थीहरुको तुलनामा मानव अधिकार, कानून र समसामयिक मुद्धामा बढी जानकार हुने भएको र उनीहरुले बालबालिकाकै सिकाई स्तर अनुसार कुरा बुझाउन सक्ने भएकोले विद्यार्थी सचेतना जगाउन र विद्यार्थीहरुमा नेतृत्व तथा प्रस्तुतीकरण क्षमता विकास गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने भएकोले विद्यालयले विद्यार्थीहरुलाई परिचालन गरेर कानूनी सचेतना कार्यक्रमहरु संचालन गरेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा बताउछन ।

उनले भने, ‘शहरका तारे होटेलमा अधिकारका बारेमा ठुलाठुला बहसहरु हुन्छन, तर विद्यालयका बालबालिकाहरुलाई उनीहरुकै थलोमा गएर अधिकार र कानूनका कुरा सिकाउने कोहि हुदैनन्. कालिकाका कानूनका विद्यार्थीहरुले स्वयंसेवी रुपमा लामो समयदेखि यस्तो काम गर्दै आएका छन् । यसले कानून पढ्ने विद्यार्थीहरु र अन्य विद्यालयका विद्यार्थीहरु दुबैलाई फाईदा पुगेको छ ।’

यसै सन्दर्भ शिक्षक युबराज कंडेलले कालिका मानवज्ञान माविले कानूनका विद्यार्थीहरुलाई ७० दिने व्यवहारिक अभ्यास गराउदै आएको छ । यस अन्तर्गत नमूना संसद, अभ्यास अदालत, स्थानीय सरकारसंग कानूनका विद्यार्थी, प्रहरीसंग विद्यार्हिहरु, सामुदायिक कानूनी सचेतना कार्यक्रम र विद्यार्थीहरुको लागि कानूनी सचेतना जस्ता कार्यक्रम संचालन गर्दै आएको छ।

कानून समूहतर्फ नेपालमै सर्वोत्कृष्ट नतिजा दिदै आएको कालिका मानवज्ञान मावि कानून समुहहा २०० विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

तस्विरः रिपोर्टर्स क्लब नेपाल/बुटवल शाखा



प्रतिक्रिया दिनुहोस्