Logo

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ



रामपुर, मंसिर १९ । सानो लगानीमा घरमै बसीबसी लाखौं रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याईनभ्याई छ। कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ। हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन्।

http://www.adbl.gov.np

रामपुर नगरपालिका-३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, गोलभेडाको बिरुवा खरिद गर्न पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर लगायतका जिल्लाबाट बर्सेनि ग्राहक आउने गर्दछन्। प्याज, काउली, बन्दा जस्ता बिरुवा बेचेर एक याममै लाखौं रकम कमाउन सकिने भएपछि उनले यो व्यावसायलाई २२ वर्षदेखि धान्दै आएका छन्। करिब एक रोपनी जग्गामा बिरुवा उत्पादन गरेका दुवाडीले यसपटक रु. दुई लाख ५० हजार बराबरको आम्दानी हुने बताउँछन्।

‘प्याज, काउली, बन्दाको माग धेरै छ। माग अनुसार पुर्‍याउन सकस छ, ग्राहकको भीडले एकछिन फुर्सद छैन’, उनले भने, ‘मंसिर सुरु भएदेखि समयमा नै खाना खान पनि भ्याइएको छैन, बिरुवा उखेलेर बेच्दा नै दिन बितेको छ।’

सानो लगानीमा रु.तीनदेखि चार महिनामा लाखौं कमाउन सकिने हुँदा लामो समयदेखि यस व्यावसायमा निरन्तर लागिरहेको दुवाडी बताउँछन्। यसपटक बीउ खरिद, मलजलसहित करिब रु. ३० हजार नर्सरीमा लगानी परेको छ।

‘लगानी धेरै गर्न नपर्ने, थोरै लगानीमा परिवारसाथमा घरमै बसेर राम्रो कमाइ भइरहेको छ, ध्यान दिएर काम गरियो भने सफलता पाइने रहेछ, धेरै टाढाबाट ग्राहक बिरुवा लिन खोज्दै आउँदा व्यवसायमा उत्साह बढेर आउँछ’ उनले भने।

उमेरले उनी ६१ वर्ष पुगे पनि बिरुवा उत्पादनमा उनको जोश, जाँगर जवानीकै जस्तो देखिन्छ। बिरुवा हेरचाह, रेखदेख र बिक्री गर्दै उनको दिन बित्छ। बिनातालिम उनले सो व्यवसाय अगाडि बढाउँदै जाँदा अहिले सफल र उदाहरणीय व्यवसायीको रूपमा चिनिएका छन्। अहिलेसम्म कुनै संघसंस्था र निकायबाट भने उनले सहयोग पाएका छैनन्। समय अनुसार विभिन्न जातका बिरुवा उत्पादन गर्छन्।

व्यावसायिक रूपमा बिरुवा उत्पादन गर्न थालेपछि दिनहुँ हातमा दाम र समाजमा राम्रो पहिचान बनेको उनकी श्रीमती मतिकला दुवाडी बताउँछिन्। काठमाडौं, पोखरा, गोरखा, चितवन, बुटवलमा पनि बिरुवा पठाएकी छिन्।

दुवाडीले उत्पादन गरेको बिरुवा राम्रो हुने भएकाले विभिन्न जिल्लाबाट ग्राहक खरिद गर्न आउने गरेको पाइएको छ। पाल्पाको निस्दी गाउँपालिका-१ डमराका यामबहादुर खाणले बर्सेनि यहींबाट प्याज, काउली, बन्दा, गोलभेडाको बिरुवा खरिद गरेर लैजाने गरेको बताउँछन्।

‘अन्य ठाउँको तुलनामा यहाँ उत्पादन भएको बिरुवाले राम्रो फल दिने गरेकाले हरेक वर्ष यसै समयमा टाढा भए पनि गाडीमा नर्सरीमै आएर बिरुवा खरिद गर्ने गरेको छु, राम्रो बिरुवा भएकाले रोपेपछि मर्‍यो, फल लागेन भन्ने पिरलो छैन’, उनले भने।

व्यवसायमा निरन्तर लागियो भने सफलता पाइन्छ भनेझैं तरकारीको बिरुवा उत्पादन गरेर एक उदाहरणीय पात्र बनेका छन् दुवाडी दम्पत्ति। उनको व्यावसाय देखेर अहिले छिमेकीले बिरुवा उत्पादन प्रविधिबारे ज्ञान सीप सिक्न आउने गरेका छन्।

रामपुर-५ बसपार्क बस्ने सिर्जना मरासिनीले पनि १५ वर्षदेखि बिरुवा उत्पादन गर्दै आएकी छिन्। हरेक वर्ष काउली, बन्दा, गोलभेडा, प्याज, लहेर बाली, काँक्रा लगायतका समय अनुसार विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गर्छिन्। एक याममै उनले बिरुवा बेचेर रु. एक लाख बराबरको कमाइ गर्छिन्। हालै मात्र रु. ७० हजार बराबरको काउली, बन्दा, प्याज बिक्री गरेकी छिन्।

कम लगानी र मेहनतमा लाखौं कमाइ हुने भएपछि कृषकले बिरुवा उत्पादनमा जोड दिएका हुन्। तरकारी उत्पादनको तुलनामा बिरुवाबाट धेरै फाइदा हुने गरेको कृषक बताउँछन्। छोटो समयमा थोरै लगानीमा सिजन अनुसार विभिन्न जातका बिरुवा उत्पादन गरेर लाखौं आयस्रोत भित्रिन थालेपछि आर्थिक क्षेत्रमा कृषक अब्बल बन्दै गएका छन्।



प्रतिक्रिया दिनुहोस्