Logo

गठबन्धन फुट्यो भने मात्र हामी सरकार निर्माणमा हात हाल्छौं : विष्णु रिमाल



काठमाडौं, १९ मंसिर । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले मौका पायो भने एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउने बताएका छन् । रिमालले भने, ‘एमालेले मौका पाउँदा एमालेलाई नै प्रधानमन्त्री बनाउँछ नि । अरु कसैलाई हामीले किन प्रधानमन्त्री बनाउने ? माओवादीको अप्सन खुला हो कि होइन, हामीलाई थाहा छैन । गठबन्धन फुट्यो भने मात्र हामी सरकार निर्माणमा हात हाल्छौं । किनभने हामीलाई जनताले दिएको भोट पुगेको छैन । एमालेको प्रधानमन्त्रीको उम्मेदवार त ओली नै हो नि ।’

उनले लोकप्रिय मतमा आफ्नो पार्टी पहिलो भएकाले सरकार बनाउने सम्भावना जीवितै रहेको बताएका छन् । ‘अहिले पनि पपुलर भोटमा एमाले नै पहिलो छ । हामीले मिसन १५० भन्यौं । ६ प्रतिशत पपुलर मत बढेको भए त्यति सिट आउँथ्यो । हाम्रो मत पुराना पार्टीमा थपिएको छैन । राप्रपा, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टीले लगे । हामीले गठबन्धनलाई जनताले रुचाउँदैनन् भनेका थियौं । त्यो सही भएको छ । नयाँ पार्टी आउँछन्, पितृले पनि भोट हाल्छन्, बुथ लुटिन्छ भन्ने त थिएन नि,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिमालले भने ।

माधव नेपालको पार्टीका कारण पनि तपाईंहरुको सिट घटेको होइन भन्ने प्रश्नमा रिमालले भने, ‘सफल-असफलको हिसाब गर्दै गरौंला । उसले जम्मा १० ठाउँमा जितेको छ । उसले ३ लाख भोट पनि ल्याएन, नत्र राष्ट्रिय पार्टी बनिसक्थ्यो नि ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको बधाइलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भँजाउन खोजेको आरोप पनि उनले लगाए । रिमालले थपे, ‘हाम्रा अध्यक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गर्नुभएको थियो । बधाई दिनुभएको थियो । राजनीतिमा त्यस्तो चल्छ । ओलीले प्रचण्डलाई पनि फोन गरेर बधाइ दिनुभएको थियो । त्यसलाई अनेक अर्थ लगाउँछन् भने हामीले के भन्ने ?’



प्रतिक्रिया दिनुहोस्