Logo

जसपालाई सत्ता गठबन्धनमै ल्याउने प्रचण्डको कसरत



काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको लागि गृहकार्य थालेका छन् । दाहालले गठबन्धनकै नेतृत्वमा सरकार बनाउनेगरि गृहकार्य थालेका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवासँग उनले सरकारको नेतृत्व पहिले कसले गर्ने भन्नेबारे ठोस कुरा राख्न सकेका छैनन् ।

तर, कांग्रेसका दोस्रो तहका नेताहरुसँग भने उनले सरकारको नेतृत्व पहिलो चरणमा आफूले गर्नुपर्ने शर्त राखेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्कादेखि सञ्चारमन्त्रीसमेत रहेका देउवाको विश्वासपात्र ज्ञानेन्द्र बहादुर कार्कीसँगको आजको भेटमा पनि उनले त्यही कुरा दोहोर्याएका छन् । तर, देउवा भने पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

दाहालले भने निर्वाचनकै मुखमा गठबन्धन छोडेर एमालेसँग सहकार्य गरेका उपेन्द्र यादवलाई पूनः आफ्नो कित्तामा ल्याउन प्रयास थालेका छन् । उनले सरकार गठनमा सहयोग गर्न यादवसँग सहयोग मागेको खुलेको छ । यादवले हिजो विराटनगरबाट काठमाडौं आउने क्रममा एमालेसँगको सहकार्य समाप्त भएको भन्ने अभिव्यक्ति दिएका छन् । यो अभिव्यक्तिले जसपा सत्ता गठबन्धनसँगै सहकार्य गर्न तयार भएको रुपमा बुझिएको छ ।

प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादवको जसपालाई साथमै लिएर कांग्रेससँग सरकारमा नेतृत्वको दाबी प्रस्तुत गर्न लागेका छन् । यस्तै, स्वतन्त्र रुपमा जितेका प्रभु साह, अमरेशकुमार सिंहलगायतसँग पनि उनले छलफल अघि बढाएका छन् । जनमत पार्टीका डा. सिके राउत र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई पनि आफ्नै कित्तामा उभ्याएर कांग्रेससँग पावर सेयरिङ गर्ने दाहालको तयारी छ ।

 



प्रतिक्रिया दिनुहोस्