Logo

प्रचण्ड भेट्न सञ्चारमन्त्री कार्की खुमलटारमा, सरकारको नेतृत्व पहिलो चरणमा नै गर्ने प्रचण्डको चाहना



काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाललाई भेट्न कार्की आज विहान दाहाल निवास खुमलटार पुगेका हुन् ।

सो क्रममा उनीहरुबीच निर्वाचनमा जितेकोमा एक अर्कामा बधाई साटासाट गरेका थिए । प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र आफूहरु दायाँबायाँ नलाग्ने बताएका थिए । उनले कांग्रेस र माओवादीबीच नै सरकारको नेतृत्वमा आलोपालो सहमति गरिनुपर्नेमा जोड दिएका थिए ।

दाहालले सरकारको नेतृत्व पहिलो चरणमा आफूले गर्ने कुरा राखेको उच्च स्रोतले जनाएको छ । कांग्रेसका नेताहरु भने निर्वाचनमा कांग्रेसलाई नै सरकारको नेतृत्व गर्ने जनमत भएकोले त्यहीअनुसार अघि बढ्ने धारणा राखिरहेका छन् ।

तर, प्रचण्डले भने आफूले धेरै मेहनत गरेर देउवालाई सरकारको नेतृत्वमा पुर्याएको भन्दै अब बन्ने सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने अडान राखेका छन् । त्यसको लागि बरु प्याकेजमै सहमति खोज्न आफू रहेको सन्देश पनि उनले बालुवाटारलाई दिइसकेका छन् ।

सरकार गठनको लागि प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग पनि एकताको गृहकार्य थालेका छन् । प्रचण्ड सरकार गठनअगावै शक्ति सञ्चयमा जुटेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्