Logo

निर्वाचन जितेलगत्तै आफ्नो क्षेत्रको विकासको लागि एक्शनमा उत्रिए विनोद चौधरी



काठमाडौं, १९ मंसिर । देशको एकमात्र डलर अर्वपति विनोद चौधरीले मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पश्चिम नलपरासी १ बाट संसद्को यात्रा तय गरेका छन् । यसअघि समानुपातिक कोटामा संसदमा पुगेका चौधरीले यसपटक भने प्रत्यक्ष निर्वाचन लडेर संसद्मा निधो गरेका थिए । र, त्यसमा सफलता हात पारेका छन् ।

चौधरीले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७१८५ मतान्तरले पराजित गरेका थिए । निर्वाचित चौधरीले २९४९५ मत प्राप्त गरेका थिए भने उनीसँग पराजित त्रिपाठीले २२३०८ मत प्राप्त गरेका थिए ।

आफ्नो व्यवसायिक साम्राज्य अब छोराहरुले सम्हाल्ने भन्दै उनी पूर्णकालिन राजनीतिमा होमिएका छन् । निर्वाचन जितेपछि उनी जिल्लामा नै छन् । दुई चार दिन बधाई साटासाटमा व्यस्त चौधरी यतिवेला भने आफ्नो क्षेत्रको समग्र विकास कसरी गर्न सकिन्छ भनेर छलफलमा जुटेका छन् । देशकै नमूना क्षेत्र बनाउनेगरि काम गर्ने उनको योजना छ ।

अहिले उनी सो क्षेत्रका स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजिवी र उद्योगी तथा व्यवसायीहरुसँग छलफलमा छन् । जिल्लामा रोजगारी सिर्जना गर्नुदेखि शिक्षा, स्वास्थ्य र खानेपानीलगायतका समस्याको समाधान आफ्नो पहिलो प्राथमिकतामा रहेको चौधरीको भनाई छ । कतिपयले भने चौधरी अब बन्ने सरकारमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व लिनेगरि अघि बढेको बताउने गरेका छन् ।

चौधरीको विकासबारे भीजनको सही सदुपयोग गरे पश्चिम नवलपरासीमा विकासको बहार आउने सो क्षेत्रका जनताको बुझाई छ । व्यक्तिगत रुपमा पनि चौधरीले सो क्षेत्रको विकासको लागि योगदान पुर्याउने वाचा गरेका छन् । अब भने उनी ती वाचालाई साकार पार्नेगरि एक्शनमा उत्रिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पनि चौधरीलाई रुचाएका छन् । उनले अब बन्ने सरकारमा चौधरीलाई महत्वपूर्ण जिम्मेवारी दिने सोच बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्