Logo

०७४ मा वाम एकताका सूत्रधार रघुवीर महासेठ प्रचण्ड निवासमा, फेरि होला त सहकार्य ?



काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का सचिव एवम् धनुषा ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । महासेठ जनकपुरबाट काठमाडौं आउनेबित्तिकै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय छन् ।

उनले काठमाडौं ओर्लनेबित्तिकै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । उनको यो भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ । निर्वाचन सकिएर अन्तिम परिणाम सार्वजनिक भैरहेको अवस्थामा नयाँ सरकार गठनबारे दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् ।

माओवादीको पदाधिकारी बैठकले नयाँ सरकार गठनको लागि सबै विकल्प खुला रहेको सन्देश प्रवाह हुनु र प्रचण्डसँग एमालेका सचिव महासेठले भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । महासेठ ०७४ मा एमाले र माओवादी एकताका सूत्रधार हुन् । प्रचण्डले नै टेलिभिजन अन्तर्वार्तामा आफू र केपी ओलीबीच रघुवीर महासेठको भैंसेपाटीस्थित् निवासमा भेटवार्ता भएको र त्यही भेटमा वाम एकताको सहमति भएको खुलासा गरेका थिए ।

आज ०७४ कै वाम एकताका सूत्राधार महासेठले प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्ड सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार जानुअघि महासेठले उनीसँग भेट गरेका हुन् । सो भेटमा निर्वाचन जितेकोमा एकअर्कामा बधाई साटासाट भएको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्