Logo

तटबन्धसम्बन्धी विवाद सल्टाउन दुई देशका अधिकारीबीच छलफल



दार्चुला, मंसिर २० । नेपाल-भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो ।

आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए ।

सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए । सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको छ । भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित रहेको छलफलमा नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो ।

भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातादेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ । भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्