Logo

शेखर कोइराला र गगन थापामध्ये एक जना संसदीय दलमा उठ्नुहुन्छः डा. पोखरेल



काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेल आफ्नो पार्टी प्राविधिक रुपमा मात्र ठूलो पार्टी भएको बताएका छन् । ‘मुलुकमा १८ लाख युवा मतदाता थपिएका बेला पार्टीको साढे सात लाख लोकप्रिय मत घट्नु चिन्ताजनक भएको डा. पोखरेलले औंल्याए ।
हामी कसरी पहिलो भयौं ? त्यो थाहा पाउनु जरुरी छ । अहिले कांग्रेसले प्राविधिक रुपमा केही सिट बढाएको छ । त्यो पनि झीनामसिना दलको बैसाखी टेकेर । लोकप्रिय मतमा हामी ७ प्रतिशत घटेका छौं । १८ लाख युवा मतदाता थपिएका बेला लोकप्रिय मतमा कांग्रेसको ७ लाख ५४ मत घट्नु गम्भीर विषय हो । साथैसाथै हामीले संसद्मा कम्युनिस्टहरुलाई नै बढाइदिएका छौं । जिताएर ल्याएका छौं । एक्लै लडेको भए पनि यो भन्दा बढी भोट ल्याउन सक्थ्यौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
डा. पोखरेल युवाले चाहेको परिवर्तन उही पात्र र प्रवृत्तिबाट सम्भव नहुने बताए । उनले थपे, ‘को प्रधानमन्त्री बन्ने भन्ने कुरा मेरो व्यक्तिगत चाहनाभन्दा पनि निर्वाचित भएर आएका पार्टीका ८९ सांसदको हातमा छ । उहाँहरुले पार्टीको भविष्य, देश र जनताको इच्छा र चाहनालाई आत्मसात् गरेर नै नेता चुन्नुहुन्छ । तर उही पात्र र प्रवृत्तिले सरकारको नेतृत्व गर्न खोज्नुहुन्छ भने आगामी दिनमा अझै घाटा लाग्न सक्छ । भएभरको दल बोकेर हामीले आफ्नो राजनीतिक दर्शन र संगठन टिकाएर जान सक्दैनौं । हामीले देशका ४० प्रतिशत जनताले भोट हाल्ने पार्टी बनाउने हो भने नेतृत्व परिवर्तन अपरिहार्य छ ।’
अब शेरबहादुर देउवाको विकल्पमा गगन थापा कि शेखर कोइराला भन्ने धमलाको प्रश्नमा डा. पोरखेलले भने, ‘मलाई लाग्छ, यसपटक शेरबहादुर देउवा संसदीय दलमा सर्वसम्मत हुने अवस्था छैन । शेखर–गगन समूह एक जना उम्मेदवार बनाएर अघि बढ्छ । अहिले दुवै नेता सांसद हुनुहुन्छ । जो भए पनि आपसी संवादबाट एक जना उम्मेदवार हुनुहुन्छ । उहाँहरुबीच कुरा मिल्छ । स्थापित विधि, विधान र प्रक्रिया अनुसार जसले जित्छ, उही नै संसदीय दलको नेता हुन्छ । तर शेरबहादुर दाइलाई खुसी पार्ने कि देश र जनतालाई खुसी पार्ने ? पार्टीले नयाँ सन्देश दिनुपर्छ ।’

डा. पोखरेलले कांग्रेसले प्रधानमन्त्री मात्र नभएर अर्थमन्त्री पनि लिनुपर्ने औंल्याए । उनले भने, ‘प्रधानमन्त्री को बन्छ, थाहा छैन । तर ठूलो दल भएकाले नेपाली कांग्रेसकै नेतृत्वमा बन्छ । र, अहिलेको आर्थिक समस्या समाधानका लागि अर्थ मन्त्रालय पनि कांग्रेसले लिनुपर्छ । सरकारप्रति जनता र निजी क्षेत्रको विश्वास बढाउनुपर्ने हुन्छ ।’
आर्थिक क्षेत्रको नेतृत्व कसले लिने भन्ने अर्को प्रश्न डा. पोखरेलले भने, ‘आर्थिक मन्दी छ । बैंकले उद्यमीलाई ऋण दिन सकेका छैनन् । ब्याजदर उच्च छ । गरिखाने वर्गलाई जीवन धान्न जटिल हुँदै गएको छ । त्यसैले अर्थतन्त्रको आधार बुझेको, विवादरहित, निजी क्षेत्र, राष्ट्र बैंकसँग समन्वय गन सक्ने कांग्रेसमा एक सय एक काविल व्यक्ति छन् । त्यो नभए बाहिरबाट ल्याएर पनि बनाउन सक्छौं ।’



प्रतिक्रिया दिनुहोस्