Logo

केपी ओलीमा कम्युनिस्ट एकता गर्छु भन्ने कुनै गुन्जायस देखिँदैन : माधव सापकोटा (भिडिओसहित)



काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं सिन्धुपाल्चोक-१ का नवनिर्वाचित सांसद माधव सापकोटाले प्रधानमन्त्रीका निम्ति गठबन्धन नफुट्ने दाबी गरेका छन् । सापकोटाले थपे, ‘गठबन्धन फुट्दैन । जनताको म्यान्डेट पनि त्यो होइन । केपी ओलीमा कमजोरी सुधार्ने, रुपान्तरण गर्ने र कम्युनिस्ट एकता गर्छु भन्ने कुनै गुन्जायस देखिँदैन । छलछाम, षड्यन्त्रमा अलमिलएकाले एमालेसँग तत्काल सहकार्य सम्भव छैन ।’

आफ्नो पार्टीको शक्ति नघटेको दाबी गरेका छन् । ‘गठबन्धनमा जाँदा माओवादी केन्द्रले प्रत्यक्षतर्फ जम्मा ४७ सिट उठाएको हो । हामीले सोचेजस्तो सिट जितेनौं । समानुपातिकमा हामीले २०७४ भन्दा थोरै मात्र गुमाएका हौं । हामीले भन्दा ज्यादा एमाले र कांग्रेसले गुमाएका छन् । समानुपातिक मत बढाउन नसक्नु हाम्रो कमजोरी हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सापकोटाले भने ।

ग्रामीण इलाकामा माओवादीको जनाधार नगुमेको पनि उनले बताए । सापकोटाले भने, ‘हाम्रो जनाधार ग्रामीण इलाकामा हो । त्यो यथावत् छ । सहरमा हाम्रो जनमत पहिले पनि थिएन । सहरमा नाम्लो बोक्ने, ठेलागाडा चलाउने मजदुर, किसान पनि गाउँकै मतदाता हुन् । सहरमा हुनका लागि अब के गर्ने ? त्यो सोचनीय छ ।’

साथै सापकोटाले गठबन्धन कतिपय ठाउँमा प्रभावकारी हुन नसकेको पनि बताए । उनले भने, ‘कतिपय ठाउँमा राम्रो परिचालन भएन । समाज विकेन्द्रित र स्वच्छन्द हुँदै गएको छ । एकले अर्कोलाई नस्वीकार्ने अवस्था पनि छ । नेपाली कांग्रेसमा चेन अफ कमान्ड नै नहुँदो रहेछ । पार्टीले भनेको ठाउँमा भोट हाल्नुपर्ने बाध्यता नहुँदो रहेछ ।’

 



प्रतिक्रिया दिनुहोस्