Logo

एमाले र कांग्रेस मिल्दा दुई दलको सरकार बन्छ, नत्र पाँचभन्दा बढी दल चाहिन्छन् : पाण्डे



काठमाडौं, २० मंसिर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो पार्टी सरकार बनाउने गृहकार्यमा नलागेको स्पष्ट पारेका छन् । ‘संसद्को बनोट हेर्दा सरकार बनाउने खेलमा लागे असम्भव त नहोला । तर अहिले एमाले गठबन्धनका दलहरुलाई लिएर सरकार बनाउने मुडमा छैन । त्यसैले कुनै गृहकार्य गरेका छैनौं । समय क्रममा गएर गठबन्धनलाई हामीले फुटाउनु पर्दैन, आफैं फुट्छ । खर्च न पर्च काशी जानुपर्छ भनेजस्तो गरेर हामी सरकारमा जाँदैनौं,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।

जसको सरकार बने पनि कांग्रेस र एमालेबीच न्यूनतम सहकार्य आवश्यक रहेको पनि उनले बताए । पाण्डेले थपे, ‘अहिलेको संसद्को एउटा मात्र तस्बिर छैन । एमाले र कांग्रेस मिल्दा दुई दलको सरकार बन्छ, नत्र पाँचभन्दा बढी दल चाहिन्छन् । जसले सरकार बनाए पनि एमाले र कांग्रेसबीच न्यूनतम सहमति हुनैपर्छ । कांग्रेस नेतृत्व कति जिम्मेवार छ ? त्यो पनि थाहा छैन ।’

एमालेलाई भन्दा पनि गठबन्धनलाई जनताले नरुचाएको पनि उनको दाबी छ । उनले भने, ‘हामीलाई हराउने केही प्रयास त भयो । तर जनताले गठबन्धनलाई पनि रुचाएनन् । आक्रोशित र चिढिएका मतदाताले सवक सिकाउने कोसिस गरे । यसलाई सकारात्मक रुपमा लिँदा राम्रो हुन्छ । ठूला पार्टी त कांग्रेस र एमाले नै भए । प्रतिद्वन्द्वी पनि उनीहरु नै हुन् ।’

यसपटक एमालेको त नसोचेको पराजय भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले भने, ‘हाम्रो आन्तरिक आकलन पहिलो पार्टी हुन सक्छौं भन्ने थियो । तर बहुमत हुँदैन भन्ने नै थियो । हाम्रो उम्मेदवारी नै भोट तान्ने खालको थिएन । गठबन्धनबाहेक अरु शक्ति आउँछन्, मुकाविला गर्छन् भन्ने नै भएन । एक त हाम्राविरुद्ध पाँचदलीय गठबन्धन थियो । स्थानीय तहमा पनि हाम्रो अपेक्षित नतिजा आएको थिएन । एकीकृत समाजवादीले धेरै भोट नल्याए पनि पार्टी विभाजनले संगठन कमजोर भयो र मत बाँडियो । फुटको प्रभाव केही न केही परेको छ ।’

तपाईंले किन हार्नुभयो भन्ने प्रश्नमा उनले थपे, ‘रवि लामिछाने र मेरो एउटै क्षेत्र होइन । तर रवि लामिछानेले जहाँबाट भोट हाले पनि मैले पाउँछु भनेकाले पनि धेरै मतदाताले रविलाई नै भोट हाल्दैछु भन्ने बुझे । उम्मेदवारीका सन्दर्भमा कांग्रेसको असन्तुष्ट भोट पनि घण्टीमा गयो, हामीले जितेको वडाबाट पनि घन्टीमै भोट गयो । कांग्रेसको उम्मेदवारीमा पनि कमजोरी थियो । उसले घण्टीको प्रभाव रोक्ने प्रयास गरेको भए हामीलाई पनि लाभ हुन्थ्यो ।’ एमाले उपाध्यक्ष रामबहादुर थापा एउटा सभाबाहेक चुनावभरि चितवनमा नबसेको पनि पाण्डेले बताए ।



प्रतिक्रिया दिनुहोस्