Logo

घाँसे मैदान बाङ्गेचौरलाई रङ्गशाला बनाइने



गलकोट, २० मंसिर । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै बाङ्गेचौर खेलमैदान अब रङ्गशालामा परिणत हुनेभएको छ ।

बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपुरक योजना स्वीकृत गरी ठेक्का प्रक्रियाको तयारी गरिरहेको छ ।

बागलुङ बजारमा रहेको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना अघिल्लो नगरकार्यपालिकाको भए पनि अझै कार्यान्वयनमा आउन सकेको थिएन । हाल दुई महिनाभित्रै ठेक्का प्रक्रियामा लैजाने गरी वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार यो वर्ष रङ्गशाला निर्माणमा करिब चार करोड खर्च गरिने र तीन वर्षभित्र पूरा गर्ने गरी बहुवर्षे योजनामा यसलाई समावेश गरिएको छ ।

बागलुङ नगरपालिका र राष्ट्रिय योजना आयोगले छनोट गरेको विशेष योजना अन्तर्गत चालु आवदेखि काम सुरु हुने श्रेष्ठको भनाइ छ । रङ्गशाला निर्माण गर्नका रु आठ करोड २२ लाख खर्च हुनेछ । जसमध्ये सङ्घीय सरकार र नगरपालिकाको ५०÷५० प्रतिशत लगानी ब्यहोर्नेछन् ।

रङ्गशालामा तीन हजार दर्शक अट्नेछन् । तत्कालीन खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा चार वर्षअघि रङ्गशालाको विस्तृत प्ररियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिएको थियो ।

डिपिआर तयारपछि छलफलका क्रममा केही संरचनाहरु थप भएका कारण डिपिआरमा उल्लेख भए भन्दा बढी लागत लाग्ने डिपिआरमा उल्लेख गरिए पनि पछिल्लो समय डिपिआर अनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएको भाग छोडेर पूर्वबाट मात्रै काम गर्ने गरी ठेक्कामा जान थालेको छ ।

बागलुङ नगरपालिकाका इञ्जिनियर शोविन घर्तीका अनुसार डिपिआरमा भएका कमी कमजोरीलाई मिलाइसकेको र अहिले वातावरणीय प्रभाव मुल्याङ्कनको काम भइरहेको बताउनुभयो । हाल वातवरणीय प्रभाव मूल्याङ्कनको काम भएको बताउँदै दुई महिनाभित्र ठेक्कामा जाने उहाँको भनाइ छ ।

घर्तीका अनुसार अहिले खेलमैदानको पूर्वतर्फ प्याराफिटलगायतको संरचना निर्माण सुरु गरिनेछ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसँगै जोडिएको खेलमैदान सडकको मापदण्ड छोडेर अथवा सडकलाई भूमिगत गरेर मात्रै पश्चिम क्षेत्रका संरचना बनाइनेछ ।

खैल मैदान, प्याराफिट, शौचालय, पार्किङ लगायतका संरचना बनेपछि खेलकुदका गतिविधि गर्न निकै सहज हुनेछ जिल्ला फुटबल सङ्सघका कोषध्यक्ष सूर्य लामिछानेले बताउनुभयो ।

यसवर्ष खेल मैदानका लागि नगरपालिकाको रु। एक करोड ७१ लाख र सङ्घीय सरकारको एक करोड ७१ लाख गरी रु तीन करोड ४२ लाख रकम खर्च हुनेछ । रङ्गशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्