Logo

छापामार शैलीमा मन्त्रालय सार्नु गलत–एमाले नेता श्रेष्ठ



लुम्बिनी, २० मंसिर । नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।

श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै नगरी सेवाग्राहीलाई नै असर पर्ने गरी प्रदेश सरकार अघि बढ्नुले राम्रो सन्देश नदिने जिकिर गर्दै सरकार गैरजिम्मेवारी कामबाट फर्किनुपर्नेमा जोड दिए । उनले जनताको जनमत प्राप्त प्रतिनिधिहरुको भावनालाई कुल्चेर बिना पूर्वाधार नै बलजस्ती ढङ्गले मन्त्रालय सारिनुले आउने पुस्तालाई समेत नकारात्मक सन्देश जाने बताए । उनले देशको अर्थतन्त्र नै खल्बलिएको अवस्थामा राज्यको करोडौं रकम खर्चेर मुलुकलाई थप आर्थिक भार दिने गरी प्रदेश सरकार अघि बढ्नुले सुशासन माथि नै गम्भिर प्रश्न उठेको बताए ।

कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्