Logo

कांग्रेस नेताहरु एक अर्काको निवास चाहार्न व्यस्त, मिसन प्रधानमन्त्री



काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस यो निर्वाचनमा पहिलो दल बनेको छ । निर्वाचनको मतपरिणाम समानुपातिकबाहेक सार्वजनिक भैसकेको छ । प्रत्यक्षतर्फ १६५ मध्ये कांग्रेसले ५७ सिट जितेको छ । समानुपातिकमा उसले ३२/३३ सिट पाउने देखिन्छ । संसद्मा पहिलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य थालेको छ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्य थालेका छन् । उनले आफूनिकटका नेताहरुलाई गठबन्धनका शीर्ष नेताहरुसँग भेटवार्तामा खटाएका छन् । देउवाको सन्देश बोकेर गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतले गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतसँग भेटवार्ता गरिरहेका छन् ।

यसपटक कांग्रेसमा प्रधानमन्त्रीमा आकांक्षा राख्ने नेताहरुको संख्या भने बढेको छ । निर्वाचनअघि नै महामन्त्री गगनकुमार थापाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा दाबी गरेका थिए । उनले संसदीय दलको नेतामा उठ्ने भनेर सोहीअनुसारको भेटवार्तालाई तिव्रता दिएका छन् ।

उता, पूर्व महामन्त्री शशांक कोइरालाले पनि आफू पनि प्रधानमन्त्रीको दाबेदार भएको सार्वजनिक रुपमै बताइसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले त अब आफ्नो पालो भन्दै भेटवार्तालाई तिव्रता दिएका छन् । उनले आफ्नो दलभित्र मात्रै नभई गठबन्धनका सहयात्राी दलका नेताहरुसँग पनि भेटवार्ता गर्न थालेका छन् ।

आजमात्रै शशांकले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता गरेका छन् । सो भेटमा देउवाले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव राखेका थिए । तर, कोइरालाले देउवालाई सहयोग गर्नेबारे ठोस जवाफ दिएनन् । उता, पौडेल भने शशांकलाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका छन् । अहिले कांग्रेसमा ‘मिसन प्रधानमन्त्री’ को लागि नेताहरुले एक अर्काको घर चाहार्ने काम गरिरहेका छन् ।

दलको नेतामा कसले बाजी मार्ने हो ? अहिले नै भन्न नसकिने केही कांग्रेस शीर्ष नेताहरुको दाबी छ । ती नेताहरुका अनुसार पार्टीमा अब पुस्तान्तरण हुनुपर्ने आवाज उठेकोले गगन पनि दलको नेता हुनसक्ने छन् ।



प्रतिक्रिया दिनुहोस्