Logo

उधारोमा बन्यो कर्णालीमा पुल



हुम्ला, मंसिर २१ । पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् ।

पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन् ।

नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँलाई जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णाली नदीमा काठेपुल निर्माण गरिएको बताए । “स्थानीय उपभोक्ता समितिबाट पुल निर्माण गरिएको छ,” उनले भने, “लिमीको हल्जी र जाङगाउँमा गाडी गुडेको देखेपछि उधारो सम्झौतामा पुल निर्माण गर्न बाध्य भएका हौँ ।”

नदीसम्म मोटरबाटो निर्माण भइसके पनि पुल नहुँदा सडक सञ्जालमा तिलगाउँ जोडिन सकेको थिएन । अन्य गाउँमा मोटर पुगेको देखेपछि गाउँलेले हतारिँदै सल्लीबाट काठ लगेर पुल निर्माण गरेका हुन् । गाउँलेले निर्माण गरेको २० मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुलमा गाडी ओहोरदोहोर गर्न थालिसकेको छ । यसबाट गाउँले निकै खुसी भएका छन् ।

डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रममा सो पुल निर्माणको स्वीकृत योजना छ । पुल निर्माणका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । योजनामा परेकाले बजेट प्राप्त हुने सुनिश्चित भएपछि उधारोमै काम गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot