Logo

समानुपातिकतर्फको मतगणना आज सकिने



काठमाडौं, मंसिर २१ । निर्वाचन आयोगका अनुसार आज समानुपातिकतर्फको मतगणना सकिने आङ्कलन गरिएको छ । आयोगमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले केही स्थानमा मतगणना जारी रहेकाले आजसम्म सकिने जानकारी दिए ।

प्रवक्ता वाग्लेले सम्पन्न भएको मतगणनाको विवरण आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको बताए ।

आयोगको विवरण अनुसार हालसम्म एक करोड पाँच लाख ५० हजार ६७ मत गणना भइसकेको छ । केही स्थानमा गणना जारी रहेकाले अहिले नै कति गणना भयो र कति बाँकी छ भन्न नसकिने प्रवक्ता वाग्लेको भनाइ छ ।

मतगणनाको पछिल्लो अद्यावधिक विवरण अनुसार नेकपा (एमाले)अगाडि रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । एमालेले २८ लाख ५४ हजार ६४१ मत ल्याएको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी (जसपा)ले पाँच लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत प्राप्त गरेको छ ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक लाख ६७ हजार ३६७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८ र हाम्रो नेपाली पार्टीले ५५ हजार ७४३ मत ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot