Logo

सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति !



काठमाडौं, मंसिर २१ । सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ। निर्वाचनअघि नै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारको नेतृत्व (प्रधानमन्त्री) साढे दुई-दुई वर्ष पाउने गरी सहमति गरेका थिए ।

प्रधानमन्त्री आलोपालो गर्ने सहमति भए पनि पहिले प्रधानमन्त्री को हुने भन्नेमा दुवै पार्टीबीच सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काबीचमा साढे दुई–दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भइसकेको स्रोतको दाबी छ । तर, दुवै नेताले पहिला आफैं प्रधानमन्त्री हुनपाउनुपर्ने अडान राख्न थालेपछि समस्या भएको बताइएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशको सभामुख र उपसभामुुुखसहितका मुख्य पदमा भागबन्डा गरेर अगाडि बढ्नेमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहमत छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आन्तरिक समीक्षा एवं सरकार गठनको आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलका नेताले निर्वाचनको परिणाम पूर्ण रूपमा आइसकेपछि सरकार प्रमुख पदमा भागबन्डा गरेर टुंगो लगाउने सहमति गरेको स्रोतको दाबी छ । आजको राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्