Logo

नेपाल कूटनीतिक नोट लेख्छ, भारत सुन्दैन



काठमाडौं, मंसिर २१ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत महाकाली क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीका विषयमा करिब एक महिनाको अवधिमा नेपालले भारतलाई दुईपटक कूटनीतिक नोट पठाएको छ।

भारतले सो सीमा क्षेत्रमा महाकाली नदीको बहाव फर्काउने गरी तटबन्ध निर्माण गरिरहेको विषयमा नेपालले मंगलबार मात्र भारतलाई कूटनीतिक नोट लेखेको छ। छिमेकी देशलाई असर पार्ने गरी सीमा क्षेत्रमा संरचना निर्माण गर्न नपाइने र सीमा क्षेत्रमा कुनै संरचना निर्माण गर्दा अनुमति लिनुपर्ने सामान्य अन्तर्राष्ट्रिय अभ्यासको समेत बेवास्ता गरेको भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट लेखेको हो।

‘महाकाली नदीको बहाव नेपाल फर्काउने गरी भारतीय पक्षले संरचना निर्माण गरिरहेको विषयमा हामीले मंगलबार नेपालस्थित भारतीय दूतावासलाई कूटनीतिक नोट पठाइसकेका छौं,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने। नेपालले एक महिनाअघि पनि भारतलाई कूटनीतिक नोट लेखेको थियो। महाकाली नदीकिनारमा भारतीय पक्षबाट निर्माणाधीन सडकबाट उछिट्टिएको ढुंगा लागेर ९ वर्षीय नेपाली बालकको मृत्यु भएको विषयमा गत कात्तिक १३ गते नेपालले भारतलाई कूटनीतिक नोट लेखेका थियो।

कूटनीतिक नोटमा नेपालले सीमा क्षेत्रमा विकास निर्माण गर्दा सावधानी अपनाउनुपर्ने, विकासनिर्माणका काम चलिरहेको बारेमा स्थानीय बासिन्दा र स्थानीय तहलाई जानकारी गराउनुपर्ने र सीमा क्षेत्रमा संरचना निर्माण गर्दा भारतले नेपालसँग अनुमति लिनुपर्ने थियो र सो नोटमा अनुमति लिन भारतलाई आग्रह पनि गरेको थियो। कूटनीतिक नोट पाएको एक महिना पनि पूरा नहुँदै भारतले सीमा क्षेत्रमा एकतर्फी अनधिकृत संरचना निर्माण थालेपछि नेपालले पुनः कूटनीतिक नोट लेखेको हो।

महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी भारतीय पक्षले निर्माण गरिरहेको संरचनाको स्थानीय नेपाली नागरिकले विरोध गर्दा आइतबार पनि भारतीय पक्षले प्रहार गरेको ढुंगा लागेर चारजना नेपाली बालक घाइते भएका थिए।

अघिल्लो वर्ष साउनमा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक जयसिंह धामी महाकाली नदी पार गर्न चढेको तुइन काटिदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए। विदेश जान काठमाडौं हिँडेका धामी चढेको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिएपछि उनको विदेश जाने सपना महाकाली नदीमा विलीन भएको थियो। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot