Logo

टेकु र बन्चरेडाँडामा हुने फोहोर व्यवस्थापन बालेनको कार्यकक्षबाटै निगरानी



काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले टेकु ट्रान्सफर स्टेसन र बन्चरेडाँडा ल्यान्डफिल साइटको फोहोर व्यवस्थापन र विसर्जन प्रक्रियाको आफ्नै कार्यकक्षबाट निगरानी गर्ने भएका छन् । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा समस्या देखिएको गुनासो आउन थालेपछि मेयर साहले आफैंले निगरानी गर्न लागेका हुन्।

टेकु ट्रान्सफर स्टेसनमा सीसीटिभी जडान गर्ने कार्य सकिसकेको छ भने बन्चरेडाँडामा सीसीटिभी जडान गर्ने तयार शुरू भएको छ । मेयर साहले टेकु ट्रान्सफर स्टेसनको सम्पूर्ण गतिविधि राष्ट्रियसभामा रहेको आफ्नो कार्यकक्षबाट सीसीटिभीमार्फत निगरानी गर्न शुरू गरिसकेका छन् ।

कामपाका सूचना प्रविधि विभागका निर्देशक नमराज ढकालले दिएको जानकारीअनुसार यसका लागि बन्चरेडाँडा ल्यान्डफिल साइटमा सीसीटिभी जडान गर्ने तयारी भइरहेको छ । उनले भने– ‘विस्तृत अध्ययन सकेको छ । पुस महिनाभित्र जडानको काम सक्नेगरी तयारी गरिरहेका छौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा सीसीटिभी राख्न टेन्डर प्रक्रिया शुरू गर्ने तयारीमा छौं ।’

वर्षौंदेखि फोहोर विसर्जनमा आएको समस्या समाधान र निराकरण गर्न ल्यान्डफिल र ट्रान्सफर स्टेसनलाई सीसीटिभीसँग जोडेको कामपाको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्