Logo

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्नः विशाल भट्टराई



काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टी जनादेश अनुसार प्रतिपक्षमा बस्ने बताएका छन् ।
‘तत्काल सरकारमा जाने एमालेको कुनै रणनीति छैन । हामी जनादेश पालना गर्दै प्रतिपक्षमा बस्छौं । हामी पर्खन्छौं । कतिन्जेल चल्छ गठबन्धन ? दुई वर्षमै खटपट हुन्छ । त्यसपछि केपी ओली नभए को हुन्छ ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने ।
उनले एमालेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको पनि बताए । भट्टराईले भने, ‘कम्युनिस्टहरुको एकता विफल भइसकेको छ । प्रचण्डजीलाई कम्युनिस्ट भन्नु नै बेकार हो । आफ्नै पार्टीको सरकार ढालेर हिँडेको मान्छेलाई कसरी कम्युनिस्ट भन्ने ? उहाँलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन । बरु उहाँले समर्थन गरे भने केपी ओली प्रधानमन्त्री बन्नु होला । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्न ।’
भट्टराईले पार्टी सचिव रघुवीर महासेठको प्रचण्डसँगको भेट व्यक्तिगत भएको पनि बताए । उनले थपे, ‘प्रचण्ड अस्थिर व्यक्ति हुनुहुन्छ । माओवादी केन्द्र पनि अस्थिरता चाहने शक्ति हो । पहिले पनि उहाँ नेकपा कब्जा गर्छु भनेर आउनुभएको देखियो । पहिले हामीले भोट हालेर जितायौं, यसपटक कांग्रेसले जिताइदियो । अर्को चोटि एक्लै लड्यो भने पाँच सिटमा खुम्चिन्छ ।’
उनले खोटाङमा आफूले हारे पनि पार्टी बलियो रहेको पनि औंल्याए । भट्टराईले भने, ‘स्थानीय तहको निर्वाचनमा हामी गठबन्धनभन्दा १७ हजार मतले पछाडि थियौं । यसपटक मैले जम्मा २, ६६९ मतले हारें । एमालेका निम्ति यो धेरै ठूलो सफलता हो ।’
केपी शर्मा ओलीलाई आफूले बालकोटमा गएर फूलमाला लगाइदिएको पनि उनले बताए । भट्टराईले थपे, ‘केपी शर्मा ओली असाधारण क्षमता र आत्मविश्वास भएको नेता हो । चौतर्फी घेराबन्दीका बाबजुद पनि उहाँकै नेतृत्वमा नेकपा एमाले पहिलो लोकप्रिय मत पाउन सफल भएको छ । मैले बालकोट गएर पार्टी अध्यक्षलाई खादा लगाइदिएँ । मैले भनें, मलाई पनि खादा लगाउन मन थियो तपाईंको हातबाट । गठबन्धनका कारण हारे पनि पार्टी बलियो छ ।’
आगामी महाधिवेशनमा पार्टीले नयाँ नेतृत्व पाउने पनि उनले दाबी गरे । भट्टराईले भने, ‘केपी शर्मा ओली दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो । उमेरका कारण पनि एमालेमा नयाँ नेतृत्व आउँछ । शंकर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका थुप्रै नेता नेतृत्व गर्न तयार हुनुहुन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्