Logo

भृकृटीमण्डप बजारमा न्यानो कपडाको व्यापार बढ्यो



सचिना बानियाँ । जाडो महिना सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको व्यापार १० प्रतिशतले वृद्धि भएको छ ।

राजधानीको मुटुमा रहेको भृकुटीमण्डपमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, रेडिमेड कपडालगायतका विभिन्न प्रकारका घरायशी सामग्रीको बजार रहेको छ ।

भृकुटीमण्डपमा निम्न वर्गीय समूदायले व्यापार बढी गर्ने गरेको व्यापार सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले बताउनुभयो । “दुई वर्षयता कोरोना महामारीले ठप्प भएको बजारमा यसपटक भने व्यापार राम्रो भएको छ”, उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यसपटक बजारको १० प्रतिशतले व्यापार वृद्धि भएको छ ।” बजारमा विशेषगरी निम्नस्तर र मध्यम वर्गका ग्राहकलाई लक्षित गरेर सामान ल्याइने उहाँले स्पष्ट पार्नुभयो ।

ग्राहकले खोजेजस्तो सामान पाइनुलाई पनि व्यापार बढ्नुको कारण उहाँ मान्नुहुन्छ । जाडो बढेपछि बजारमा न्यानो कपडाको व्यापार बढ्न थालेको व्यवसायी सुशीला धमलाले बताउनुभयो । १६ वर्षदेखि सोही स्थानमा व्यापार गदै आउनुभएको उहाँले भन्नुभयो,“गत वर्षको तुलनामा यो वर्ष व्यापार बढेको छ, दैनिक २० हजारमाथि व्यापार हुन्छ ।” दुईवर्ष कोरोना महामारीको कारण खस्केको बजारको व्यापार अहिले बढेको उहाँको भनाइ छ ।

विगतका जाडो महिनाको तुलनामा यो वर्ष कपडा बिक्री बढी भएको २० वर्षदेखि कपडा व्यवसाय गर्दै आउनुभएका रोशन रौनियारले बताउनुभयो । ग्राहकको भीड नबढेपनि व्यापार राम्रो भएको उहाँले बताउनुभयो । दैनिक रुपमा एकदेखि पाँचवटासम्म व्याल्याङकेट बिक्री हुने बताउँदै उहाँले विवाहको महिना सुरु भएकाले सारीको पनि व्यापार बढेको सुनाउनुभयो ।

उहाँले पछिल्लो समयमा कपडाका मूल्य बढेर आएकोले ग्राहक मूल्य सुनेर मात्रै पनि फर्किने गरेको भन्दै गुनासो गर्नुभयो । दुई/तीन वर्ष कोरोना महामारी र डेंगीले व्यापार मन्द भए पनि यो वर्ष व्यापारले गति लिएको कपडाको व्यवसाय गर्दै आउनुभएका ज्ञानबहादुर कार्कीले बताउनुभयो । गर्मी मौसममा भन्दा जाडोमा कपडाको व्यापार बढी हुने गरेको उहाँको अनुभव छ ।

पसलमा राम्रो सामान राख्न नसक्दा व्यापार पनि राम्रो नभएको बजारमा व्यापार गर्दै आउनुभएको निशा श्रेष्ठले बताउनुभयो । “सामानको मूल्य महँगिएको छ, सामान हाल्न सकेका छैनौँ, ग्राहक फेन्सी टाइपको कपडा खोज्न आउँछन्,” श्रेष्ठले भन्नुभयो, “ग्राहकले खोजेजस्तो सामान राख्न सकेका छैनौंँ ।” पछिल्लो समयमा चाइनिज र नेपालमा उत्पादन भएका कपडा छुट्टाउनै नसक्ने उहाँको भनाइ छ ।

कपडा व्यवसायी रोहित धमलाले गत वर्षको तुलनामा यसवर्ष भृकुटीमण्डप बजारमा कपडाको व्यापार १५ प्रतिशतले बढेको जिकिर गर्नुभयो । यो वर्ष नयाँ डिजाइनका कपडा बजारमा आएकाले पनि बिक्री बढी भएको उहाँको भनाइ थियो ।

भन्सारमा जस्तो कपडा हुन्छन् त्यस्तो कपडा ल्याउनुपर्ने व्यापारीको बाध्यता रहेको व्यापारी जनक थापाले बताउनुभयो । सस्तो र राम्रो सामान पाउने भएकोले सधैँ भृकुटीमण्डपमा सामान किन्न आउने २१ वर्षीया विनिता थापाले बताउनुभयो ।

कपडादेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइने भृकुटीमण्डप बजारमा एक हजार दुई सय ६५ वटा स्टल रहेका छन् । बजारभित्र आठ सय ४४ वटा पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रित रहेको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्