Logo

११ महीनापछि खुल्यो मिरगञ्ज पुल



विराटनगर, मंसिर २२ । ११ महीनापछि भारतको जोगवनी नाकाबाट चार किलोमीटरनजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ। साविकको पुल भासिएपछि बनेको नयाँ आरसीसी मोटरेबल पुल सञ्चालनमा आएको हो ।

अब भारतलगायत तेस्रो मुलुकबाट आउने औद्योगिक कच्चा पदार्थलगायत सामग्री बोकेका ढुवानी साधनले विराटनगर भन्सार आइपुग्न तय गर्नुपर्ने दूरी ११६ किलोमीटरले छोटिएको छ । यसबाट व्यवसायीको समय र पैसा दुवै बचत हुनेछ भने व्यवसायको लागत पनि केही कम हुनेछ ।

पुल सञ्चालन नहुँदासम्म जोगवनी नाकाबाट चार किलोमीटर पर आइसकेका ढुवानी साधन सुनसरीको भण्टाबारी नाकाबाट घुमेर विराटनगर भन्सार ल्याउनुपथ्र्यो । पुल नहुँदा दैनिक औसत ६८ ओटा मालवाहक साधन घुमेर आइरहेकोमा बुधवार १६८ ओटा भारतको जोगवनी र नेपालको रानीमा बनेको नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) बाट नेपाल प्रवेश गरेका छन् । घुम्न नपर्दा एउटा ट्रकरकन्टेनरको १६ हजार रुपैयाँ ढुवानी भाडा जोगिने व्यवसायीको भनाइ छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले उक्त एकीकृत जाँच चौकीबाट बुधवारदेखि मालवाहक साधन आउन थालेको पुष्टि गरे । भन्सार प्रमुख ताराप्रसाद सापकोटाले मिरगञ्जको पुल आधिकारिक रूपमा सञ्चालनमा आउन बाँकी भए पनि मालवाहक गाडी आईसीपी हुँदै आएको र तिनको संख्या बढेको बताए ।

मिरगञ्ज पुल भासिँदा १० महीनामा विराटनगर भन्सारबाट हुने कारोबार १८ अर्ब ७५ करोडले घटेको थियो । सुनसरीको भण्टाबारी नाकाबाट घुमाएर ल्याउँदा १० महीनामा व्यवसायीले ९ करोड ६० लाख बराबर अतिरिक्त ढुवानी भाडा तिरेका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्