Logo

नेपाललाई नेवारी संस्कृतिबाट विश्वभर चिनाउनुपर्छ : नेता सिंह



काठमाडौ, २२ मंसिर । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन् ।

ज्यापु संस्कृति विकास कोषले बिहीबार गरेको १९औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताएका हुन् । उनले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

नेता सिंहले नेवारहरुको पहिचान नै भाषाको पहिचान भएको भन्दै नेवारी भाषालाई पनि जोड दिएर अगाडी बढाउनुपर्ने बताए । उनले भने, ‘अब हामीले लामो कुरा गर्ने भन्दा पनि कामले गरेर देखाउनुपरेको छ । समय परिवर्तनशील छ र परिवर्तित समयअनुसार हामीले आफ्नो समुदायलाई सुहाउँदो किसिमले आफ्नो काम गर्ने तरिकामा, सोचमा, गराइमा हामीले समयको मागबमोजिम सिक्नुपर्छ र त्यहीअनुसार अगाडि बढ्नुपर्छ ।’

उनले समय परिवर्तनशील छ भन्दैमा हाम्रा पुर्खाले स्थापित गरेको मौलिक संस्कृतिलाई पनि हामीहरुले पूरै अवमूल्यन गर्न नमिल्ने बताए । ‘हाम्रो पहिचान भनेकै भाषाको पहिचान हो । नेवारी भाषाको जोड दिएर जुन रुपमा अगाडि बढाउनुपर्ने हो त्यसमा सबै मिलेर काम गर्नुपर्छ,’ नेता सिंहले भने, ‘यसलाई हामी सबैले महसुस गर्नुपर्छ । हाम्रो जुन संस्कृति छ । नेपालको विदेशीहरुले चिन्ने भनेकै नेवारी संस्कृतिबाट नेपाललाई चिनाउने सशक्त माध्यमको रुपमा अझ काम गरेर अगाडि बढाउनुपर्छ । यसमा ध्यान दिनुपर्छ ।’

उनले पुर्खाहरुले स्थापित गरेका मौलिक संस्कृतिलाई नयाँ पुस्ताले अवमूल्यन गर्नु नहुने पनि बताए । यद्यपि समयअनुसार भने परिवर्तन भने हुँदै जानुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot